नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आवश्यकता अनुसार मेडिकल कलेज खोल्न दिनुपर्ने धारणा राखेका छन्। वाम गठबन्धनको घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले घुमाउरो शैलीमा ल्याउन लागिएको चिकित्सा शिक्षा अध्यादेशको विरोध गरे।
सरकारले १० बर्षसम्म काठमाडौँमा मेडिकल कलेज खोल्न नपाउने व्यवस्था सहितको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। तर राष्ट्रपतिले सिफारिस भएको १५ दिन बित्दा समेत अध्यादेश प्रमाणीकरण गरेकी छैनन्।
डाक्टर गोविन्द केसीले अध्यादेश प्रमाणीकरण नभए अनसनको चेतावनी दिइसकेका छन्। केसीको चेतावनी र राष्ट्रपतिको अडानका बीच एमाले अध्यक्ष ओलीले आवश्यकता अनुसार मेडिकल कलेज खोल्नुपर्ने बताएका हुन्।
चिकित्सा शिक्षा विधेयकमा ३ बर्षसम्म सफलता पूर्वक अस्पताल सञ्चालन गरेपछि मात्र मेडिकल कलेज खोल्न योग्यता पुग्ने उल्लेख छ।
निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने क्रममा ओलीले सेवा क्षेत्रको विषय उल्लेख गरिरहँदा चिकित्सा शिक्षाको विषयमा समेत धारणा राखेका हुन्।
‘रोग लाग्दा कसैले पनि औषधी उपचार नपाउने हुन नपरोस्’, ओलीले भने, ‘एउटा आग्रहका लागि कहिले मेडिकल कलेज खोल्न पाउने कहिले नपाउने। कोहीले विद्यार्थी मेडिकल पढ्न विदेशमा पठाउनुपर्ने, कोहीले नपाउने। यस्ता आवेश उत्तेजनाको पछाडी होइन। देशलाई आवश्यकता अनुसार अगाडि बढाउने कुरामा हामी दृढ संकल्पित छौँ। र त्यहि चिज गर्छौँ।‘
वाम गठबन्धनका दुवै दल नेकपा एमाले र माओवादी केन्द्रले संसद अन्त्य हुनु अघि चिकित्सा शिक्षा विधेयक परिमार्जन गरेर पारित गर्ने सरकारको प्रयासलाई प्रक्रियागत विषय उठाउँदै अस्वीकार गरेका थिए।
लगत्तै सरकारले सोही विधेयक परिमार्जन गर्दै अध्यादेशको रुप दिएको हो। दुवै दल अध्यादेशको विरोधमा छन्।
सरकारले अहिले जारी गरेको अध्यादेश नयाँ निर्वाचनपछि तीन महिना भित्र संसद बैठकमा पेश गर्नुपर्छ। अध्यादेश पेश नभए स्वत: खारेज हुनेछ।