धनाढ्यहरूले कर छली गर्न विदेशी कम्पनीमा फर्जी लगानी गरेको खुलासा गर्ने गोप्य कागजात हो, प्याराडाइज पेपर्स।
विश्वका केही राजनीतिक नेता, धनाढ्य र सेलेब्रेटीले आफ्नो सम्पत्ति लुकाउन कर छुट भएका वा नलाग्ने देशमा फर्जी कम्पनी खोलेर लगानी गर्दै आएको ती कागजातबाट खुलेको छ।
खोज पत्रकारको अन्तर्राष्ट्रिय महासंघ (आइसिआइजे) मा आबद्ध सञ्चारमाध्यमले यी गोप्य विवरण हात पारेर अनुसन्धान अघि बढाएका हुन्। यो अभियानमा बिबिसी पानोरमा, गार्जियन, न्यूयोर्क टाइम्स लगायत ६७ देशका झन्डै एक सय सञ्चारमाध्यम संलग्न छन्।
अठार महिनाअघि आइसिआइजेकै सक्रियतामा पनामा पेपर्स सार्वजनिक भएको थियो। त्यसमा नाम मुछिएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफसहित केही देशका उच्चपदस्थ व्यक्तिले राजीनामा दिएका थिए।
अभियानमा आबद्ध सञ्चारमाध्यमहरुले आइतबार रातिदेखि कर छलीसँग सम्बन्धित विवरण सार्वजनिक गर्न थालेका छन्। यो क्रम साताभर चल्नेछ। यसबाट संसारका सयौं प्रतिष्ठित व्यक्ति तथा कम्पनीले कर छल्न कसरी बाह्य मुलुकमा लगानी गरेका छन् भनी सार्वजनिक भएको छ।
यी गोप्य वित्तीय विवरण बर्मुडास्थित कानुनी सेवाप्रदायक कम्पनी ‘एप्पलबाइ’ सँग सम्बन्धित छन्। एप्पलबाइले आफ्ना सेवाग्राहीलाई कर कम वा शून्य रहेका देशमा लगानी गर्ने चाँजो मिलाउँदै आएको छ।
कर छलीमा को–को मुछिए?प्याराडाइज पेपर्स अभियानले केही ठूला राजनीतिक नेता, बहुराष्ट्रिय कम्पनी, सेलेब्रेटी तथा धनीहरूले कर छल्न बाह्य देशमा लगानी गरेको खुलासा गरेको छ।
अहिलेसम्म सार्वजनिक भएका प्रमुख कर छली निम्न छन्ः
- अमेरिकी कम्पनी एप्पलद्वारा इंल्यान्ड र फ्रान्सबीच पर्ने जर्सीको च्यानल टापूमा लगानी।
- फर्मुला वान च्याम्पियन लेभिस ह्यामिल्टनद्वारा जेट विमान किन्दा १ करोड ६५ लाख पाउन्ड कर छली।
- बेलायती महारानी एलिजावेथद्वारा १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी रकम केमन द्वीप तथा बर्मुडाको एक कोषमा लगानी।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र तथा वाणिज्य मन्त्री विल्बर रसद्वारा एक सिपिङ कम्पनीमा लगानी। रुसी ऊर्जा कम्पनीलाई तेल र ग्यास आपूर्ति गर्ने उक्त सिपिङ कम्पनीमा रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनका ज्वाइँसमेत संलग्न।
- युटु ब्यान्डका गायक बोनो समेतको लगानी रहेको लिथुवानियाको एक सपिङ मल कर छलीको अनुसन्धानमा।
- टेलिश्रृंखला ‘बिबिसी सिटकम’ का तीन कलाकारद्वारा कर छल्न २० लाख पाउन्डभन्दा बढी रकम अन्यत्र लगानी।
- एङ्लो–स्वीस कम्पनी ग्लेनकोरद्वारा भ्रष्टाचारमा आरोपित एक इजरायली अर्बपतिलाई चार करोड ५० लाख डलर ऋण दिएको खुलासा। यो ऋणको माध्यमबाट मध्यअफ्रिकी क्षेत्रमा रहेको खानी उत्खनन् सम्झौता।
- इंल्यान्ड र आयरल्यान्ड बीचको टापू ‘आइल अफ म्यान’ द्वारा कर छली गर्नेहरूका सुविधाबमोजिम कानुन पारित।
- क्यानडेली प्रधानमन्त्री जस्टिन ट्राड्यूका प्रमुख सहयोगीको नाम पनि कर छलीमा। उनको वैदेशिक लगानीबाट क्यानडालाई दसौं लाख डलर घाटा।
- बेलायती कन्जरभेटिभ पार्टीका पूर्व डेपुटी अध्यक्ष लर्ड एसक्रफ्टद्वारा विदेशी लगानी नियम उल्लंघन गर्दै बाह्य लगानी।
प्याराडाइज पेपर्समा नाम हुने पूर्व प्रधानमन्त्रीहरूमा क्यानडाका जिन क्रेटिन, पल मार्टिन र ब्रायन मुलरोनी, पाकिस्तानका शौकत अजिज र जापानका युकियो हातोयामा छन्। अस्ट्रियाका पूर्व चान्सलर अल्फ्रेड गुसेबाउर र कोस्टारिकाका पूर्व राष्ट्रपति जोस मारिया फिगरस पनि यसमा मुछिएका छन्। ब्राजिलका अर्थमन्त्री र कृषिमन्त्रीको नाम पनि परेको छ।
भारतीय को–को मुछिए?यो खुलासाले भारतमा तहल्का मच्चाएको छ। मुछिएका व्यक्तिको संख्याका आधारमा भारत १९ औं नम्बरमा पर्छ। यसमा दुई जना राजनीतिक नेतासहित ७१४ जना भारतीय धनाढ्यको नाम समावेश छ। केन्द्रीय मन्त्री जयन्त सिन्हा र भाजपा राज्यसभा सांसद रवीन्द्र किशोर सिन्हा पनि मुछिएका छन्।
सिन्हा सन् २०१४ मा लोकसभा सांसद र मन्त्री हुनुअघि ओमिड्यार नेटवर्कका प्रबन्ध निर्देशक थिए। यो कम्पनीले अमेरिकी डिलाइट डिजाइनमा लगानी गरेको छ, जुन क्यारेबियन समुद्री तट केमन टापूको सहायक कम्पनी हो।
एप्पलबाइको रेकर्डअनुसार सिन्हा डिलाइट डिजाइनमा निर्देशक थिए। सन् २०१४ को आम निर्वाचनमा सम्पत्ति सार्वजनिक गर्दा सिन्हाले यो विवरण नखुलाएको इन्डियन एक्सप्रेसले जनाएको छ। सन् २०१६ मा मन्त्री हुँदा पनि उनले यो विवरण लुकाए।
भाजपाका रवीन्द्र धनाढ्य सांसदको सूचीमा पर्छन्। इन्डियन एक्सप्रेसका अनुसार उनले व्यक्तिगत सुरक्षा कम्पनी एसआइएस स्थापना गरेका छन्, जसको बाह्य लगानी देखिएको छ। यसले माल्टा र ब्रिटिस भर्जिन टापूमा लगानी गरेको खुलासा भएको छ।
प्याराडाइज पेपर्स कहाँबाट आउँछन्?प्याराडाइज पेपर्समा एक करोड ३४ लाखभन्दा बढी गोप्य वित्तीय दस्तावेज छन्। यसमा कानुनी सेवाप्रदायक एप्पलबाइ र कर्पोरेट सेवाप्रदायक एस्तेराका माध्यमबाट लगानी भएका ६८ लाख दस्तावेज छन्। एस्तेरा सन् २०१६ मा एप्पलबाइबाटै फुटेर स्थापना भएको हो।
अर्को ६० लाख दस्तावेज क्यारेबियन क्षेत्रका १९ विभिन्न संस्थामार्फत् भएका लगानीसँग सम्बन्धित छन्। सिंगापुरस्थित अन्तर्राष्ट्रिय कोष एसियासिटी ट्रस्टमार्फत् पनि थोरै रकम लगानी भएको देखिन्छ।
सार्वजनिक दस्तावेज सन् १९५० देखि २०१६ सम्मका छन्। यसमा रहेका विवरण १४ सय जिबी बराबर छन्।
एप्पलबाइ के हो?बर्मुडास्थित एप्पलबाइ एक कानुनी सेवाप्रदायक कम्पनी हो, जसले ठूला अन्तर्राष्ट्रिय कम्पनी, वित्तीय संस्था र धनाढ्यहरूलाई कर छुट भएका देशमा कम्पनी खोल्न सहयोग गर्छ। यसमा कुनै एक नाम मात्रको कागजी कम्पनी खडा गरिन्छ, जसलाई ‘सेल’ कम्पनी भनिन्छ। यस्तो कम्पनी करको दर कम वा छुट भएका र गोपनीयता कायम राख्ने देशमा दर्ता हुन्छ।
त्यसपछि अर्को कुनै त्यस्तै कर छुट पाइने देशमा बैंक खाता खोलिन्छ। खाता खोलेपछि त्यही सेल कम्पनीको नामबाट पैसा जम्मा हुन थाल्छ। यहाँ कम्पनीको नाममा ऋण लेनदेन हुन्छ, जुन कसैले कसैलाई तिर्नु पर्दैन। सम्पत्ति खरिद-बिक्री पनि हुन्छ, जसको कर लाग्दैन।
एप्पलबाइ कम्पनी सन् १८९० मा स्थापना भएको हो। धनाढ्यहरूको सम्पत्ति व्यवस्थापनमा संलग्न १० ठूला कम्पनीमध्ये यो एक हो। यसले ३१ हजार अमेरिकी, १४ हजारभन्दा बढी बेलायती र १२ हजार बर्मुडाका ग्राहकलाई सेवा दिइरहेको छ।
आइल अफ म्यान टापू, गुन्से, जर्सी, बर्मुडा, ब्रिटिस भर्जिन टापू, केमन टापू, सांघाइ, हङकङ, सिचेलिस र मोरिसस गरी संसारभर यसका १० कार्यालय छन्।
[caption id="" align="aligncenter" width="761"]
बर्मुडास्थित एप्पलबाइ कम्पनीको कार्यालय। तस्बिरः दी न्युयोर्क टाइम्स[/caption]
यो खुलासामा सार्वजनिक चासो किन?बाह्य देशमा लगानी गर्नु पूर्ण रुपमा गैरकानुनी होइन। तर, उच्च र जिम्मेवार पदमा बसेका व्यक्तिले नै आफ्नो देशमा प्रयोग हुनसक्ने पुँजी अर्को देशमा निष्क्रिय राखेको यसले खुलासा गर्छ। यो आफैंमा नैतिक प्रश्न हो।
बेलायती महारानीले बाह्य देशको कोष वा कम्पनीमा लगानी गर्नु गैरकानुनी होइन। उनले कर पनि तिर्नुपर्दैन। राजपरिवारबाटै बाह्य कम्पनीमा लगानी गर्नुले नैतिक प्रश्न भने खडा भएको छ।
यसबाहेक आफ्नै देशमा सम्पत्ति राख्दा तिनुपर्ने कर छलिन्छ, जुन त्यो राष्ट्रका निम्ति आर्थिक नोक्सान नै हो। यही दबाबका कारण विगतमा केही देशका उच्च पदस्थले ‘अयोग्य’ ठहरिएर राजीनामा दिनुपरेको थियो।
पनामा र प्याराडाइज पेपर्समा के फरक छ?पछिल्ला चार वर्षयता कर छलीसम्बन्धी यो पाँचौं ठूलो खुलासा हो। यसको विवरण पनामाभन्दा सानो भए पनि सूचनाका आधारमा व्यापक र सान्दर्भिक छ। बेलायती महारानीसमेत बाह्य लगानीमा संलग्न भएको यसले खुलासा गरेको छ।
त्योभन्दा ठूलो, यसबाट अमेरिकी राजनीतिमै तरंग ल्याउनसक्ने सूचना चुहिएको छ। राष्ट्रपति ट्रम्पका विश्वासपात्र विल्बर रसले रुसी कम्पनीमा लगानी गरेको र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनसँगको उनको सम्बन्ध यसले उजागर गरेको छ। यसको सिधा प्रभाव ट्रम्पमाथि पर्नेछ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनदेखि नै ट्रम्प र रुसी सम्बन्धलाई लिएर प्रश्न उठिरहेका छन्। त्योबेला रुसले निर्वाचन प्रभावित पारेको भन्दै ट्रम्पको आलोचना हुँदै आएको छ। ट्रम्पले उक्त आरोप झुटो भएको दाबी गर्दै आएका बेला यो खुलासा भएको हो।