चुनावको मिति नजिकिएको छ। सामाजिक सञ्जाल यतिबेला उम्मेद्वारहरूले मत माग्दै गरेका फोटाले रंगिएका छन्। नेताहरू मत माग्न खेतबारीमा धाई रहेका छन्। अनि जनताको हात समातिरहेका छन्।
खेतबारीसम्म पुग्न सम्मलाई पनि ठिकै मान्न सकिएला तर कोही हलो नै समातिरहेका छन्। अनि कोही माला लगाएर धान चुटिरहेको देखिन्छन्। केही उम्मेद्वार छालाका जुत्तामा खेतमा धान काटिरहेको छन्।
सामाजिक सञ्जालमा उम्मेद्वारको फोटो केवल चुनावी ‘स्टण्ट’ लाग्छन्।
ललितपुरबाट प्रतिनिधिसभाका एमाले उम्मेद्वार नवराज सिलवाल धान काटिरहेको फोटो सार्वजनिक भएको छ। फोटोमा सिलवाल छालाको जुत्ता अनि चिटिक्क सर्ट पाइन्टमा छन्। उनी कृषक देखिदैँनन्। चुनावी प्रचारक देखिन्छन्।
मोरङ बेलबारीका प्रदेश सभाका उम्मेद्वार ललित श्रेष्ठ पनि माला सहित खेतमा धान काटिरहेका छन्। कतिपय उम्मेद्वार मतदाताको हात आफ्नो शिरमा राखिरहेछन्। बाग्लुङका उम्मेद्वार देवेन्द्र पौडेल झोला बोकेकी एक महिलाको हात शिरमा राखिरहेछन्।
कोही उम्मेद्वार छपक्कै मालाका पुरिएका छन्। एमालका गोकर्ण विष्ट धान काटिएको खेतमा बैठक गरिरहेका छन्। आरजु राणा ढकिया बोकिरहेकी छिन्।
मत माग्ने फुर्सत समेत नभएका उम्मेद्वारको खेत यात्रा चुनावी ‘स्टण्ट’ मात्र देखिन्छ।