एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतसँग बोल्ने हिम्मत प्रधानमन्त्री शेरबहादुर देउवासँग नभएको दाबी गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले भारतसँग कुरा गर्नु परे प्रधानमन्त्रीलाई चारपल्ट चस्मा र पाँच पल्ट दौरा मिलाउनु पर्नेभन्दै कटाक्ष गरे।
तीन महिनादेखि नेपाल आउन लाइन लागे पनि आउन नपाएका ट्याङ्कर खुलाउन नसकेकोमा उनले प्रधानमन्त्रीको काम प्रति आलोचना गरेका छन्।
'मधेशमा गएर वारिबाट प्रधानमन्त्रीले भाषण गर्नुभयो पारी तीन महिना पनि उठाइ नसकिने लाइन छ, ट्याङ्करको त्यो खोल्ने कुरा गर्नुहुन्न उहाँ। संविधानस संशोधन गर्नु हुन्छ कि पहिला त्यो लाइन खोल्नु हुन्छ?', उनले सोधे 'एमालेले सरकार बनाएपछि सात दिन भित्र त्यस्ता बाटासाटा सबै क्लियर बनाइसक्छ। कुरा गर्छ भारत सरकारसँग। कुरा गर्ने आँट गर्छ क्या कमसेकम यो सरकार हो भन्ने थाहा हुन्छ।’
उनले अझै थपे ‘उहाँहरुलाई भारतसँग एकपल्ट बोल्नु पर्यो भने चारपल्ट चस्मा मिलाउनु पर्छ पाँच पल्ट दौरा तान्नुपर्छ। उहाँहरू गर्न सक्नु हुन्छ कुरा? गर्न सक्नुहुन्न । नत्र भन्ने मात्र हो भने खुल्थ्यो। राजदूतसँग पनि बोल्न सक्नु हुन्न कठै बरा।'
भारतसँग सम्बन्ध सुधार्नेले ती ट्रक खुलाएर देखाउन उनले चुनौति दिए।
‘दैनिक हजारौँ रूपैया तिरेर उभिएका ट्रक यता आउन पाएको छैन उभिएको पैसा तिरेको छ। कति दिन देखि ट्याङ्करहरु उभिएका छन् कमसेकम त्यति खुलाउनु पर्दैन?' अध्यक्ष ओलीले भने, 'अनि एमालेको राष्ट्रियता भएन रे भारतसँग सम्बन्ध विगार्यो रे! सम्बन्ध सपारेको हेर्नुस् त बोर्डरमा गएर। रक्सौलबाट २ घण्टा उता जानुभयो भने तपाईँले यता नेपाल आउन लाइन लागेका ट्रक ट्याङ्कर देख्नुहुन्छ।'
मधेसमा गएर संविधान संशोधन गर्छु भन्दै भाषण गरेको किन हो भन्दै पनि उनले सोधे।
'हिजो मधेसमा गएर भाषण गरेको सुनियो कि मधेसी जनताका लागि अधिकारसम्पन्न बनाउन संविधान संसोधन गर्न हामीलाई भोट दिनुहोस्। संविधान संशोधन के का लागि गर्ने? मधेसी जनताका लागि हो की हैन? की पारिबाट आउने र नागरिकता बनाउने तुरुन्तै राष्ट्रपति बनाउन हो? नेपालमा कोहि छैनन् र ल्याउन पर्यो उतैबाट सापटी? त्यसका लागि संविधान संशोधन?'
नेकपा एमाले लोकतन्त्र प्रतिको निष्ठा छोड्न नसक्ने पनि उनले बताए। कठिन संघर्षबाट लोकतन्त्र प्राप्त गरेको भन्दै उनले यसलाई छोड्न नसक्ने बताए। कांग्रेसले एमाले माओवादी गठबन्धनपछि लोकतन्त्र समाप्त हुने बताउँदै आएको छ। त्यसैको उत्तर उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
'लोकतन्त्र दशैँ तिहारमा बम्पर उपहार परेको हैन। कठिन संघर्ष गरेर बलिदान दिए आएको हो। लोकतान्त्रका आधारभुत मुल्य मान्यता, आवधिक निर्वाचन बहुदलीय लोकतान्त्रिक प्रणाली, यी चिज हामी छोड्न सक्दैनौँ,’ उनले भने।