प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले कुनै पनि हालतमा रोक्न नमिल्ने बताएका छन्।
डा.गोविन्द केसीसहितको टोलीसँग बिहीबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले कुनै पनि हालतमा चिकित्सा शिक्षा अध्यादेश रोक्न नमिल्ने बताएका हुन्।
‘सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले रोक्न पाउनु हुन्न,’ भेटका क्रममा प्रधानमन्त्री देउवाले भनेको कुरा उदृत गर्दै डा.अभिषेकराज सिंहले सेतोपाटीसँग भने, ‘अध्यादेश आउँछ । म राष्ट्रपतिसँग कुरा गरेर भएको केहो बुझ्छु।’
प्रधानमन्त्री निवास बालुवाटारमा डा.केसीसहित डा.सिंह, डा.वाइपी सिंह, अधिवक्ता ओमप्रकाश अर्याल र डा.तोषिमा कार्कीले भेट गरेका थिए। भेटमा प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षाका क्षेत्रमा भएका अन्य विषयमा पनि जानकारी लिएका थिए।
केसीको माग अनुसार मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यालयमा लामो समयदेखि अड्किएको छ। मन्त्रिपरिषद्ले कात्तिक ६ गते पारित गरेको अध्यादेश सोही दिन राष्ट्रपति कार्यालयमा पठाइएको थियो।
यसअघि सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार उक्त विधेयक जारी नहुनुका कारण लिखित रुपमा डाक्टरको समूहले माग गरेको छ। राष्ट्रपतिलाई सम्बोधन गर्दै दिएको निवेदनमा विधेयक रोकिएको मौकाको फाइदा उठाई मेडिकल माफियालाई सहयोग पुगेकाले सूचना दिनुपर्ने माग गरिएको छ।
प्रधानमन्त्री देउवाले टोलीसँगकै छलफलका क्रममा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई फोन गर्दै काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न मेडिकल काउन्सिलमा पठाएको पत्र फिर्ता लिन निर्देशन दिएका थिए।
प्रधानमन्त्री देउवाले काठमाडौं नेसनलको सम्बन्धन खारेजीका लागि अदालतमा 'भ्याकेट' दर्ता गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई निर्देशन दिने पनि बताएका छन्। खनियाँ हाल विदेशमा छन्। उनी शनिबार नेपाल आउने बताइएको छ। प्रधानमन्त्रीले आइतबार नै उपकुलपति खनियाँलाई अदालतमा भ्याकेट दर्ता गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थानको अधिकार फिर्ता गर्न निर्देशन दिने आश्वासन दिएको सिंहले जनाए।