अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई चीनले विशेष सम्मान दिएको छ।
ट्रम्पको भ्रमणलाई ‘अ स्टेट भिजिट प्लस’ नाम दिएको चीनले पहिलो पटक ‘फर्बिडन सिटी’मा अमेरिकी राष्ट्रपतिलाई आतिथ्यता दिएको हो।
एक सय ८० एकड जमिनमा बनेको फर्बिडन सिटी यस्तो ठाउँ हो जहाँ झन्डै पाँच सय वर्षसम्म चिनियाँ सम्राटको परिवार बस्ने गर्थे।
सन् १४०६ बाट सुरु गरेर १४२० मा बनेको यो दरबारलाई सन् २००५ मा पुननिर्माण गरिएको थियो। ९ सय ८० वटा घर भएको यो ठाउँ कुनै बेला रगत र आँशुको दरबार भनेर चिनिन्थ्यो।
१८५६ मा सुरु भएको दोस्रो अफिम युद्धमा पश्चिमा सेनाले यो दरबारलाई नियन्त्रणमा लिएका थिए। सन् १८६० पछि मात्र उनीहरु त्यहाँबाट निस्केका थिए। सन् १९३३ मा जापानी सेनाले फेरि यो दरबारलाई नियन्त्रणमा लिएको थियो।
विश्व सम्पदा सूचीमा सूचीकृत यो ठाउँलाई अहिले संग्राहलय बनाइएको छ। यो ठाउँलाई चिनियाँहरु इतिहासको गौरव र अफिम युद्धमा पश्चिमा सेनाको बर्बरतासँग जोड्ने गर्छन्।
इतिहासलाई गम्भीरतापूर्वक लिने चीनले सन् १९४९ पछि कुनै पनि विदेशी पाहुनालाई यो ठाउँमा राखेको थिएन।
चुनावी अभियानमा चीनप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका ट्रम्पलाई भने उसले विशेष सम्मान दिएको हो।
बुधबार साँझ चिनियाँ राष्ट्रपति सी चिन फिङ र प्रथम महिला पेङ लियुयानले राष्ट्रपति ट्रम्प अमेरिकी प्रथम महिला मेलानियाको सम्मानमा रात्रीभोज आयोजना गरे।
यसअघि ट्रम्प बेइजिङ पुग्दा पनि चीनले उनलाई रातो कार्पेटले स्वागत गरेको थियो। विषेश विमानबाट ट्रम्प बेइजिङमा ओर्लदा उनको स्वागतमा रातो कार्पेट, सैनिक ब्याण्ड र हातमा अमेरिका र चीनको झण्डा बोकेका सैयौं बालबालिका उभिएका थिए।
आफ्नो कार्यकालको अन्तिम हप्ता बेइजिङ पुगेका राष्ट्रपति ओबामाको स्वागतमा चीनले रातो कार्पेट बिच्छाएको थिएन।
जी–२० को सम्मेलनमा भाग लिन सेप्टेम्बर २०१६ मा ओबामा बेइजिङ पुगेका थिए।
चुनावी अभियानको क्रममा चीनप्रति निकै आक्रामक भएका ट्रम्प गत अप्रिलमा राष्ट्रपति सी चिन फिङसँगको भेटपछि नरम हुँदै गएका छन्। बेइजिङ भ्रमणका क्रममा उनले आफू चीनलाई आरोप लगाउने पक्षमा नरहेको बताएका छन्।
ट्रम्पको भ्रमणका क्रममा २ सय ५० बिलियन अमेरिकी डलरको व्यापार सम्झौता भएको छ। यो सम्झौता बारे थप खुलाइएको छैन।
शुक्रबार पत्नी मेलानियालाई बेइजिङमै छोडेर ट्रम्प एक्लै भियतनाम प्रस्थान गरेका छन्।
भियतनाम जानुअघि उनले ट्वीट गरेका छन्–भियतनाममा हुने एपेक सम्मेलनमा सहभागी हुन म चीन छोड्दै छु। प्रथम महिला मेलानिया अलास्का जानुअघि चिडियाखाना र ग्रेट वाल अफ चाइना घुम्न यही बस्नेछिन्।
दुई दिने भियतनाम भ्रमणका क्रममा उनले एपेक सम्मेलनमा सहभागी हुनेछन् भने सोही सम्मेलनमा आएका रुसी राष्ट्रपति भलाद्मिर पुटिनसँग पनि उनको भेटवार्ता हुनेछ।