नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू मिसनसहित राजनीतिमा लागेकाले त्यो पूरा भएपछि विश्राम लिने बताएका छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार नेता पौडेलले शुक्रबार व्यास– १२ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गुणस्तरिय शिक्षा, गुणस्तरिय स्वास्थ्य र रोजगारीको अवसर गाँउ सृजना गर्ने आफ्नो मिसन पूरा भएपछि राजनीतिबाट विश्राम लिने बताए।
उनले यही चुनावपछि गाँउगाँउमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर पु¥याउने आफ्नो लक्ष्य पूरा गर्ने भन्दै त्यो मिसन पुरा भएपछि राजनीतिबाट विश्राम लिने घोषणा गरे।
उनले अहिलेको बामगठबन्धन मुलुकका लागि केही गर्नेभन्दा पनि जनतालाई झुक्याउन बनेको आरोप लगाए।
पौडेलले २००७ सालदेखि नै मुलुकमा एउटा राजनीति व्यवस्थाको टुंगो लगाउने प्रयत्न भइरहे पनि दरबारिया र कम्युनिष्टहरुले व्यवस्थाको टुंगो लाग्न नदिएकाले मुलुक समृद्धि हुन नसकेको जिकिर गरे।
‘बहुलवादी संसदीय व्यवस्था र प्रजातन्त्रसहितको समाजवादी राजनीति व्यवस्थाको संविधान जारी भएपछि टुंगो लागेपछि एमाले माओवादी गठबन्धनले यो व्यवस्थालाई स्वीकार गर्न सकेका छैनन्,’ पौडेलले भने, ‘अहिलेको राजनीति व्यवस्थालाई अस्वीकार गर्दै फेरि मुलुकमा राजनीति अस्थीरताका लागि बाम गठबन्धन बनेको हो।’