विवेकशील साझा पार्टीले नेपालमा स्थिर शासनका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको परिकल्पना सहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
अहिलेको संसदीय प्रणालीले विकृत राजनीति निम्त्याएको भन्दै उसले यस्तो अवधारणा अघि सारेको हो।
'वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर सरकार, अप्राकृतिक सत्ता समीकरण लगायतका विकृति निम्त्याएको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप उपयुक्त हुने पार्टीको ठहर छ।’ विवेकशीलसाझाको घोषणापत्रमा भनिएको छ।
शुक्रबार राजधानीमा आयोजित समारोहमा सहसंयोजक रविन्द्र मिश्र सहित नेता कार्यकर्ताले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन्।
पद्धति, पारदर्शीत, इमान्दारिता, उत्कृष्टता र समानुभुति पार्टीको मूल्यमान्यता भएको घोषणापत्रमा उल्लेख छ। ठूला नेताहरुको घरखर्च देखि मोटर खर्चसमेत कहाँबाट चल्छ कहिलै जनताले थाहा पाउने अवस्था नभएको तर विवेकशील साझाले भने आफ्ना कृयाकलाप र आर्थिक कारोबार सबैको पहुँचमा हुने गरी पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ।
सहभागीतामुलक लोकतन्त्र, समन्वायत्मक बजार अर्थतन्त्र, लोककल्याणकारी र समावेशी राज्य आफ्नो मार्गदर्शक विचार भएको पनि घोषणापत्रमा उल्लेख छ।
आफ्नो संगठनभित्र उम्मेदवार चयन गर्दा प्रारम्भिक निर्वाचन गरिने, राइट टु रिकल , राइट टु रिजेक्ट जस्ता पद्धति अपनाएर पार्टीको आन्तरिक लोकतन्त्र संस्थागत गरिने उसले जनाएको छ।
त्यस्तै विद्यार्थी, शिक्षक, प्राध्यापक, डाक्टर लगायतका दलिय पेशागत संगठन आफ्नो पार्टीमा नहुने घोषणापत्रमा लेखिएको छ।
विवेकशील साझाले जनताका आधारभूत आवश्यकताको सुनिश्चित गर्ने पनि जनाएको छ।
'रोजगारी,भरपर्दो आवास, विजुली, पानी, गुणस्तरीय शिक्षा र स्वास्थ्यसेवा, समाजिक सुरक्षा, सुविधाजनक जिवनयापन, स्वच्छ वातावरणजस्ता जनताका आधारभूत आवश्यकताको सुनिश्चित गरिने छ,' घोषणापत्रमा उल्लेख छ।
यातायात, उर्जा, सूचना प्रविधि लगायतका पूर्वाधारहरु तीब्र गतिमा निर्माण गर्ने, ग्रामीण वस्ति विकास, व्यवस्थित शहरीकरण र आवासको योजना तर्जुमा र कार्यान्वयन गर्ने पनि उसको घोषणापत्रमा उल्लेख छ।
त्यस्तै कृषि, जडिबुटी, जलस्रोत, पर्यटनको आधुनिकीकरण गर्ने प्रतिबद्धता उसले जनाएको छ।