कुनै बेला भारतीय सेना हाम्रो उत्तरी नाकामा अड्डा जमाएर बसेको थियो। उत्तरमा हिमालयलाई आफ्नो सुरक्षा घेरा ठान्ने भारतले ताप्लेजुङदेखि दार्चुलासम्म १८ ठाउँमा सैनिक चेकपोष्ट राखेको थियो।
यो २००८ सालतिरको कुरा हो। त्यसको झन्डै २० वर्ष भारतीय सेना यसैगरी नेपालका उत्तरी सिमानामा अड्डा जमाएर बस्यो।
एकैचोटि २०२७ असार ४ गते भारतीय सेना उत्तरी सीमाबाट फिर्ता भएको थियो। भारतलाई यो निर्णय गर्न एक जना व्यक्तिले बाध्य पारेका थिए। त्यतिबेला भारतीय सेना नेपालबाट फर्काउन महत्वपूर्ण भूमिका खेलेका थिए, तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले, जसको ९० वर्ष उमेरमा शनिबार निधन भएको छ।
लामो समयदेखि क्यान्सरले ग्रस्त उनको ज्ञानेश्वरस्थित निवासमा बिहान साढे १० बजे निधन भएको हो।
उनी पञ्चायती कालमा तीनपटक प्रधानमन्त्री र ज्ञानेन्द्र शाहको शासनकालमा एकपटक मन्त्रीपरिषद उपाध्यक्ष भएका थिए। विष्टको समग्र राजनीतिक करिअरमा भारतीय सेना फिर्ता पठाएको घटना नै सबभन्दा महत्वपूर्ण मानिन्छ।
त्यतिबेला भारतीय सेनामात्र नेपालबाट हटेको थिएन, दुई छिमेकी भारत र चीनसँग असन्तुलित सम्बन्ध राख्नुपर्ने नेपालको बाध्यता पनि हटेको थियो।
लामो समय बिष्ट निकट रहेका पूर्वपरराष्ट्र मन्त्री भेषबहादुर थापाका नजरमा उनी सरल, इमान्दार, राष्ट्रवादी र वौद्धिक नेता हुन्।
बिष्टले आफ्नो प्रधानमन्त्री पद दाउमा राखेर भारतीय सेना फिर्ता पठाउन लागिपरेका थापा बताउँछन्।
‘उहाँ सुरुदेखि नै सन् १९५० को सन्धी पुनरावलोकन गर्नुपर्ने र भारतीय सेना नेपाली भूमिबाट हट्नुपर्छ भन्नुहुन्थ्यो,’ थापाले सेतोपाटीसँग भने, ‘उहाँले जनताको मन जितेर, राजालाई पनि मनाएर भारतीय सेना फिर्ता पठाउन पहल गर्नुभएको हो।’
बिष्ट पहिलो पटक २०२५ सालमा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएलगत्तै उनले भारतीय सैनिक चेकपोष्ट हटाउन पहल थालेका थिए। तत्कालीन अर्थ सचिव थापा, परराष्ट्र सचिव यदुनाथ खनाल र रक्षा सचिव पदमबहादुर खत्रीसँग पनि उनले यो विषयमा लामै छलफल गरेका थिए।
‘उहाँ निकै राष्ट्रवादी हुनुहुन्थ्यो, जसरी पनि भारतीय सैनिक हटाउनुपर्छ भन्नुहुन्थ्यो,’ थापाले भने, ‘प्रधानमन्त्री भएपछि उहाँले १९५० को सन्धी खारेज गर्नुपर्छ भन्नुभएको थियो। उहाँ भारतसँग सम्बन्ध बिगार्न चाहनु हुन्थेन। बरू असमान कुरा हटाएर झन् प्रगाढ बनाउन चाहनुहुन्थ्यो।’
राजा महेन्द्र भने सेना फिर्ता पठाउँदा भारतबाट हुन सक्ने असहयोगप्रति सचेत थिए।
‘राजाले ‘यसो गर्दा तिमीलाई अप्ठेरो पर्ला नि?’ भन्दा ‘मलाई केही अप्ठेरो पर्दैन, मौसुफलाई अप्ठेरो परे मलाई फालिबक्सेला’ भनेको कुरा हामीलाई सुनाउनु भएको थियो,’ थापाले भने, ‘उहाँलाई आफ्नो प्रधानमन्त्री पद जाला भन्ने पीर थिएन।’
थापाका विचारमा भारतीय सेना फिर्ता हुनु नेपालको परराष्ट्र नीतिमा ठूलो खुडकिलो पार हुनु हो। ‘त्यसपछि हामीले चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्ने नीति कार्यान्वयन गर्न पायौं,’ उनले भने, ‘त्यो कुरा पछि चीन भ्रमणमा माओत्सेतुङ लगायतका नेताले उहाँलाई गरेको सम्मानमा पनि देखिन्थ्यो।’
बिष्ट २०२८ सालमा दोस्रो पटक प्रधानमन्त्री भएका थिए। सिंहदरबारमा आगलागी भएपछि उनले नैतिकताका आधारमा राजीनामा दिए।
राजा महेन्द्र र वीरेन्द्र दुवैका विश्वास पात्र बिष्ट तेस्रो पटक २०३४ सालमा प्रधानमन्त्री बने। २०३६ सालको जनमत संग्रह घोषणा हुँदा उनी प्रधानमन्त्री थिए। पछि उनलाई हटाएर जनमत संग्रह बेला राजा वीरेन्द्रले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएका थिए।
२०४६ सालको राजनीतिक परिवर्तनपछि उनी राजनीतिबाट टाढिए। राजनीतिमा निष्क्रिय भए पनि उनले समसामयिक विषयमा लेख्न थालेका थिए।
२०६१ मा राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए। मन्त्रिपरिषदको अध्यक्ष उनी आफैं बने। आफ्ना बुवाका विश्वासपात्र बिष्ट र डा. तुलसी गिरीलाई मन्त्रिपरिषद उपाध्यक्ष बनाए।
२०६२/०६३ को आन्दोलनपछि राजनैतिक पर्दाबाट हराएका बिष्टले पछिल्लो समय सरकारले उपचार गर्न दिएको पैसा फिर्ता गरिदिएका थिए।
बिष्टको आजै पशुपति आर्यघाटमा सामान्य रूपमा अन्त्येष्टि गरिएको छ। ‘मृत्युपछि कुनै सम्मान नदिनू’ भन्ने बिष्टको चाहनाअनुसार नै अन्त्येष्टि गरिएको परिवारका सदस्यले बताएका छन्। अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकन्द्रबहादुर चन्द र उपप्रधानमन्त्री कमल थापा सहभागी भए।