नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ९ गते माओवादीसँग पार्टी एकता गर्ने कुनै योजना नभएको बताएका छन्।
आइतबार गृहजिल्ला झापामा चुनावी सभा सम्बोधन गर्दै ओलीले एकताको हल्ला मिडियाबाट थाहा पाएको बताए।
‘आज बिहानै हल्ला सुनेँ। साथीहरुले फोन गर्नुभयो। ९ गते एकीकरण रे भन्नुभयो। मैले थाहा पाएको छैन, के भएछ भनेँ’, ओलीले बिहानको गतिविधि व्याख्या गर्दै भने, ‘प्रचण्डलाई फोन गरेर सोधेँ – ९ गते हुँदैछ रे नि एकीकरण भनेको, उहाँ पनि हाँस्नुभयो।’
ओलीले तत्काल एकीकरणको योजना नरहेको बताए। साथै चुनावपछि एकीकरणको प्रक्रिया अगाडि बढाउने उल्लेख गरे।
९ गतेसम्म एकीकरण भनेर हल्ला फैलाउने अनि १० गते गर्न सकेनन् भाँडियो भनेर हल्ला फैलाउने योजनाका साथ काम गरिएको आरोप उनको थियो।
‘आफैंले कथा बनाउने, आफैँ वाचन गर्ने अनि आफैं कथा सुन्ने’, ओलीले भने, ‘साथीहरुको फोन आउँछ ९ गते एकीकरण भनेर। पत्रिका रेडियोबाट भन्छ। बिहानै समाचार वाचन हुन्छ ९ गते भनेर… अचम्म लाग्छ।’
एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने गरी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेका छन्। दुबै पार्टीले एकताका लागि संयोजन समिति समेत गठन गरेका छन्।