नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईका विपक्षमा कसैले बोल्यो कि प्रतिवादमा उत्रन्छन् सीताराम खड्का। नउत्रिउन् पनि किन, बालसखा जो परे।
सीताराम र बाबुराम सँगै पढेका हुन्। चार कक्षासम्म गोरखा खोप्लाङको रुख फेदमुनि बसेर। 'हामीलाई एक जना भुजेल सरले पढाउनुहुन्थ्यो', बाबुरामसँगै कखरा सिकेका सीतारामलाई अझै याद छ।
त्यसपछि नजिकैको आँप-पिपलको स्कूलमा ७ कक्षासम्म र लुँइटेल स्कूलमा दस कक्षासम्म उनीहरु सँगसँगै पढ्न गए। बाबुराम एसएलसीमा 'बोर्डफस्ट' भएर अगाडि बढे, सीताराम गाउँमै छुटे। अहिले उनी खोप्लाङमै पसल चलाउँछन्।
मंसिर १० गते हुने निर्वाचनमा बाबुरामको प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठसँग छ। कसैले श्रेष्ठको पक्ष लिएर बोल्यो भने सीतारामलाई औडा हुन्छ।
उनी सिधै प्रतिवादमा उत्रन्छन् - कहाँको बाबुराम, कहाँ को त्यो 'डाँडापारीको मान्छे'।
गोरखाकै भएपनि श्रेष्ठ र बाबुरामको गाउँ बीचमा थुप्रै डाँडा छन्। उनी जौबारीका हुन्।
'हामीलाई केही पर्यो भने को आउँछ?', सीताराम प्रश्न गर्छन् अनि उत्तर पनि आफैँ दिन्छन् 'बाबुराम त हो नि।'
बाबुराम जन्मिएको खोप्लाङ यतिबेला दुविधामा छ। बाबुरामका समर्थक मात्र छैनन् यहाँ। उनले सिद्धान्त र विचार छाडेको आरोप लगाउने पनि छन्।
'दुनियाँका छोराछोरी बाबुरामलाई हेरेर माओवादीमा लागे', खोप्लाङकै राजेन्द्र श्रेष्ठ भन्छन्, 'अहिले गलत्याएर गए।' स्थानीयका अनुसार खोप्लाङबाट जनयुद्धमा ९ जनाले ज्यान गुमाएका छन्।
०६४ मा गोलकारभित्रको हँसिया र हथौडामा बाबुरामले मत मागेका थिए। धेरै अन्तरले जिते। २०७० सालमा बाबुरामले निर्वाचन क्षेत्र परिवर्तन गरे। उनी खोप्लाङ मत माग्न आएनन्। गत स्थानीय निर्वाचनमा बाबुरामले हातले समातेको मसालको प्रचार गरे। अहिले आँखा चिन्हमा उम्मेदवार छन्। स्थानीय पनि बाबुरामले पार्टी परिवर्तन गरिरहेको मन नपरेको बताउँछन्।
साथी नै भएपनि सीताराम पनि बाबुरामले माओवादी छाडेकोमा खुसी भने छैनन्। माओवादीमै भएको भए भोटमा अरु कसैले 'चिहाउनै नसक्ने' उनको विश्लेषण छ।
पालुङटार नगरको वडा नं १ मा पर्छ खोप्लाङ। यहाँ स्थानीय निर्वाचनमा नयाँ शक्तिकै कृष्ण परियारले वडा अध्यक्ष जितेका छन्। बाबुरामकी छिमेकी पम्फा बसेल उपमेयरमा निर्वाचित भएकी छिन्। उनी बाबुरामकै कारण माओवादी भएर जनयुद्धमा सहभागि भएकी हुन्। बाबुरामले पार्टी छाडेपनि उनले छाडिनन् र त्यही पार्टीबाट बाबुरामकै गाउँबाट उपमेयर बनिन्।
'बाबुरामको बुद्धिले के देख्नुभयो। अब उहाँ पढेलेखेको मान्छे। त्यही पार्टीमा बसेको भए हुन्थ्यो', उपमेयर बसेलका बुवा सूर्यबहादुर बसेल भन्छन्, 'हामी त विचारले माओवादी भयौँ, म माओवादी भएकाले नारायणकाजीलाई समर्थन गर्छु।'
सीताराम र सूर्यबहादुर छिमेकी हुन्। उनीहरुको समर्थन फरक व्यक्तिलाई भएपनि दुवै प्रतिस्पर्धी उम्मेदवारको तारिफ गर्न भने चुक्दैनन्।
'नारायणकाजी पनि राम्रो मान्छे हो', सीताराम भन्छन्, 'तर यो ठाउँको होइन, बाबुराम विश्व कहलाएको छ। यहाँ पनि बाबुरामले जति कसैले गरेको छैन।'
तर सूर्यबहादुर भन्छन् - 'बाबुरामलाई जित्न गाह्रो छ। जिते पनि एक्लै हुन्छन् केही गर्न सक्दैनन्।' सूर्यबहादुर बाबुरामले माओवादी छाडेर गल्ती गरेको बताउँछन्। अनि नारायणकाजी निष्ठावान् भएको दावी गर्छन्।
खोप्लाङमा बाबुराम र माओवादी दुवै रोज्ने पनि छन्। कतिपय बाबुरामलाई भोट दिएर पनि समानुपातिकमा माओवादीलाई दिने पक्षमा छन्। उनीहरु गोरखाको विकास बाबुरामले गरेको बताउँछन्। अनि पार्टी छाडेकोमा गल्ती मान्छन्।
बाबुरामकै कारण दु:ख पाएकाहरु पनि उनले माओवादी छाडेको निको मान्दैनन्। बाबुरामका अर्का साथी गणेश गुरुङ भन्छन्, 'तँ बाबुरामको साथी रहेछस् भनेर पुलिसले एलएमजी तेस्याएर मार्न खोजे। मैले म भारतीय सेनाको जागिरे भनेपछि मात्र छाडे। बाबुरामको साथी हुँदा मात्रै पनि हामीले दुख पायौँ। तर अहिले उनी नै माओवादी भएनन्। सँगै खेलेको दाजुभाइ, भोट दिउँ भन्यो पार्टी अर्कै छ।'
तर गोरखा विकास बाबुरामले गरेको भन्दै एक मौका दिने मुडमा छन्। 'वाम गठबन्धन पनि गए फेरि फर्किए, धेरै अस्थिर भए', अब एक मौका दिउँ त भन्ने मात्र हो', उनी भन्छन् नत्र विचारले पार्टी चल्नुपर्ने उनी बताउँछन्।
सीताराम भने प्रचण्डले माथि जान नदिएर बाबुरामको खुट्टा तानिदिएको ठान्छन्। 'उनीहरु बीचमा के भयो कुन्नि! तर प्रचण्डले अगाडि बढ्न रोकेकै हो', उनी भन्छन्, 'नत्र माओवादी भैरहन्थे।'
खोप्लाङबासी चुनावी चर्चाले रमाएका छन्, दुःखी पनि छन्। खोप्लाङकै भिमसेन पन्तले बाबुराम र नारायणकाजीको प्रतिस्पर्धालाई छुट्टै नाम दिएका छन्।
'साँढे जुधाई।'
यहीँका सीतराम थापा भन्छन्, 'मुटु माथि ढुंगा राखी हाँस्नु पर्या छ। यहाँ उठेका दुई नेता नै राम्रा हुन्। एउटालाई हराउनु पर्ने भयो।'
पालुङटार खोप्लाङमा बाबुराम 'प्लस'मा छन्। उनको नाममा विकासको 'क्रेडिट कार्ड' छ। जसको मतलाई उनले' क्यास' गर्छन् वा गर्दैनन् त्यो भने निर्वाचन परिणामले थाहा हुनेछ।