गोरखामा दिनदिनै चिसो बढ्दो छ। बिहानपख पालुङटार उपत्यका कुहिरोले ढपक्कै ढाक्छ। दिँउसो कुहिरो फाटेपछि मात्र अलिकति न्यानो हुन्छ।
गोरखा – २ मा पर्ने पालुङटारको राजनीति भने मौसमभन्दा ठ्याक्कै उल्टो छ — चुनावी सरगर्मीको पारो दिनदिनै बढिरहेको छ।
यहाँ नयाँ शक्तिका बाबुराम भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीचमात्र प्रतिस्पर्धा छैन, दुई गठबन्धन बीचको प्रतिस्पर्धा पनि छ।
जितका लागि भट्टराई र श्रेष्ठ दुबैले दुई ठूला पार्टी कांग्रेस र एमालेको काँध मागेका छन्। कांग्रेस- नयाँशक्ति र माओवादी-एमालेबीचको ध्रुवीकरणले गोरखालाई तताएको छ।
पालुङटारमा किसानलाई धान र पराल थन्क्याउने चटारो छ। तर काँग्रेस र एमालेलाई त्योभन्दा बढी चटारो कार्यकर्ताको कुन्यू लगाउन छ।
उम्मेद्वार भएका माओवादी र नयाँशक्तिलाई भन्दा कम चुनाव लागेको छैन, कांग्रेस र एमालेलाई।
पालुङ्टारमा दुवै गठबन्धनले सभा गरिसकेका छन्। बाबुरामको सभाका लागि गाँउगाँउबाट कार्यकर्ता ओसार्न कांग्रेस सक्रिय थियो।
एमाले अध्यक्ष र माओवादी अध्यक्ष नै पालुङटार आएपछि यी दुई दलका कार्यकर्ताको नजुट्ने कुरै भएन।
हिजोसम्म एकअर्काका कट्टर विरोधी रहेका कार्यकर्ता गोरखामा अहिले हातेमालो गरिरहेका छन्।
सेतोपाटीले गोरखा क्षेत्र नम्बर २ को १६० किलोमिटर यात्रा गरेर झन्डै एक सयभन्दा धेरै कार्यकर्ता/ मतदातालाई भेट्दा उनीहरू दुई गठबन्धनलाई नै मत दिने बताए। समानुपातिकमा पार्टीलाई दिने तर प्रतिनिधिसभाको प्रत्यक्षमा उनीहरुले गठबन्धन उम्मेद्वारलाई नै रोज्ने खुलाए ।
कुनै समय कांग्रेसविरुद्ध माओवादीबाट चुनाव लडेका भट्टराईलाई अहिले कांग्रेसको समर्थन छ। कांग्रेस नेता, कार्यकर्ता विभिन्न आरोप खेपेरै पनि उनको पक्ष लिइरहेका छन्।
‘बाबुराम कांग्रेसलाई गोरखाबाट जरैदेखि उखेल्छु भन्थे। उखेलरै छाडे, मतपत्रबाट कांग्रेसको रुख हरायो’, माओवादी कार्यकर्ता कांग्रेसलाई व्यङ्ग हान्छन्।
कांग्रेसीहरूको माओवादीलाई उत्तर छ, गोरखा–२ मा यति धेरै विकास गर्ने मानिस तिमीहरूलाई पचेन, हामी भट्टराई जिताएर तिमीहरूलाई देखाइदिन्छौं।
यसपटक गोरखामा माओवादीलाई हराउन सके उसले भविष्यमा टाउको उठाउन नसक्ने विश्लेषण कांग्रेसीहरूको छ। त्यसैले आफ्नै पार्टीको दीर्घकालीन स्वार्थका लागि पनि उनीहरू माओवादीलाई हराउन जोडतोडले लागेका छन्।
गोरखामा चुनावी तालमेल गरेका यी दुई गठबन्धनका नेता कार्यकर्ता जति प्रतिवद्ध छन्, अरू जिल्लामा सायदै तालमेल यति कसिलो होला।
पालुङटार–७ मा भेटिएका कांग्रेस कार्यकर्ता माओवादी हराउन मात्र भए पनि नयाँ शक्तिलाई भोट दिन सबै तयार रहेको बताउँछन्। ‘पछि हिसाब गर्नुहोला समानुपातिकको भोट कति आउँछ अनि थाहा भइहाल्छ नि’, उनले भने।
बाबुराम अलग्गिएपछि विभाजित भएको माओवादीलाई यसपालि पछार्न नसके भविष्यमा मौका नआउने कांग्रेसी नेता कार्यकर्ताको विश्लेषण छ।
कांग्रेस बाबुरामलाई साथ लिएर २०५६ सम्मको आफ्नो इतिहास दोहोर्याउन खोज्दैछ। २०४८ देखि ०५६ सम्मका तीनै निर्वाचनमा कांग्रेसले गोरखाका सबै क्षेत्र जितेको थियो।
‘स्थानीय निर्वाचनबाट हामीले माओवादीलाई कमजोर बनाएका छौं’, डुम्रे डाँडामा भेटिएका एक कांग्रेस कार्यकर्ताले भने, ‘बाबुराम जिते भने पनि राष्ट्रिय हैसियत पाउँदैनन्, हारेपछि माओवादी कमजोर हुन्छ, आधारभूमि खोसिन्छ।’
बाबुरामलाई कांग्रेसको साथ बलियो हुनुको अर्को कारण भने उनले क्षेत्र नं १ मा कांग्रेसलाई समर्थन गरेका छन्।
कांग्रेसका चीनकाजी श्रेष्ठलाई नयाँ शक्तिले समर्थन गरेका कारण पनि क्षेत्र नं २ कांग्रेसको बलियो साथ बाबुरामलाई देखिन्छ।
‘मतपत्रमा चुनाव चिन्ह नै नभएपछि कम्युनिष्टलाई भोट दिनुभन्दा त नयाँ शक्तिको आँखामा भोट दिनु ठिक हो नि’, कांग्रेस कार्यकर्ता भन्छन्, ‘रुख भेटिएको ठाउँमा रुखलाई नै छाप दिने हो।’
एमाले-माओवादीको वाम गठबन्धन पनि गोरखामा कम कसिलो छैन।
पालुङटार–८ का एमाले कार्यकर्ता कोसविलास कालाखेती भन्छन्, ‘हामी त कुल पूजामा जम्मा भए जस्तो लाग्छ। हाम्रो बाजेबराजु एउटै हुन्। दाजुभाइ फरकफरक भएका थिए। अब पूजा जस्तो निर्वाचनमा भेला भएका छौं। कम्युनिष्ट हौँ, हँसिया हथौडामा भोट हाल्न गाह्रो छैन।’
गोर्खामा माओवादी केन्द्रका श्रेष्ठलाई एमालेको बलियो समर्थन छ। समग्रमा जिल्लामा कमजोर रहेको एमाले माओवादीसँगको गठबन्धनले टाउको उठाउने अवस्थामा छ।
भट्टराई बलियो प्रतिष्पर्धी भएकाले पनि वाम गठबन्धनले वाम कार्यकर्ता आफ्नो पक्षमा राख्न राम्रै मिहेनत गरेका छन्।
एमालेहरुको खटाइ र गठबन्धनप्रतिको इमान्दारिता पनि कांग्रेसको भन्दा कम छैन। एमाले-माओवादी एकताका लागि सुरुदेखि नै सक्रिय रहेकाले नारायणाकाजीको जितसँगै दुई पार्टीको एकता सुनिश्चित हुने उनीहरुको भनाइ छ। अझ स्थायी सरकार बनेर विकास गर्ने केन्द्रीय आश्वासनले पनि यहाँ गठबन्धनलाई भर मिलेको छ।
पालुङ्टार वा गोरखा सदरमुकाममा भेटिएका एमाले कार्यकर्ताहरुको भनाइ एउटै छ – वाम एकताको विकल्प छैन। एउटै कम्युनिष्ट पार्टी बनाउने योजना सफल पार्न हामी माओवादीलाइ साथ दिन्छौँ।
माओवादीसँगको गठबन्धन विचारमा आधारित भएका कारण एमालेहरू नारायकाजीलाई भोट दिने नहिचकचाउने एमाले कार्यकर्ताहरु बताउँछन्। उनीहरूका लागि चुनाव चिह्नको प्रश्न पनि अब महत्वपूर्ण रहेन।
उनीहरु भन्छन्— अब सूर्य छैन, कम्युनिष्ट चिन्हमा भोट दिने हो।
यसरी गोरखा– २ उम्मेद्वारभन्दा बढी गठबन्धनमा बाँधिएका दल र तिनका कार्यकर्ताबीचको चुनाव हो।
मतदाताका लागि भने गठबन्धन धेरै महत्वपूर्ण हो वा उम्मेद्वार त्यो भने कार्यकर्ताले भन्न सक्ने कुरा हैन। त्यो मतदाताले मात्र भन्न सक्छन्।
सेतोपाटीले गोरखाका विभिन्न ठाँउका २०० भन्दा बढी मतदातासँग गरेको कुराकानीमा अाधारित स्टोरी अर्कोपटक प्रकाशित गर्नेछौं।