थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ।
विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आएका पूर्वमन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो।
नौजना प्रतिस्पर्धी भए पनि मुख्य प्रतिस्पर्धा भने दुवै पूर्व मन्त्रीबीच हुने आँकलन गरिएको स्थानीयवासी चेतराम चौधरी बताउँछन्।
दुवै पूर्व मन्त्रीबीचको कडा र रोचक प्रतिस्पर्धा हुने आँकलन भइरहँदा उनीहरुलाई विगतमा थरुहट आन्दोलनको नेतृत्व गरेका भानुराम थारुको चुनौती छ।
संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका भानुरामले पाउने मतका आधारमा सो क्षेत्रमा जित र हार प्रभावित हुन सक्ने बताइन्छ ।
फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भइसके पनि लोकतान्त्रिक फोरमका निवर्तमान भानुराम विद्रोही उम्मेदवार जस्तै देखिएकाले पूर्वमन्त्री रामजनमलाई चुनाव जित्न केही चुनौती थपिएको हो।
विगतमा भएको थरुहट आन्दोलनको नेतृत्व गर्नुभएका भानुरामले दोस्रो संविधानसभाको चुनावमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेस्रो स्थानमा आएका थिए।
वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्वकृषि मन्त्री गौरीशंकर आफ्नो कार्यकालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेका कारण चर्चामा छन्।
विवादरहित ढंगले उम्मेदवार तय गरिएकाले वाम गठबन्धनकै उम्मेदवार गौरीशंकरको जित सुनिश्चित रहेको उनका समर्थकको दाबी छ भने काँग्रेसका नेता कार्यकर्ता भने भानुरामको उम्मेदवारीले धेरै फरक नपर्ने भन्दै काँग्रेसले बाजी मार्नेमा ढुक्क छन्। 'फोरम लोकतान्त्रिक र काँग्रेसबीचको एकीकरणले थोरै मत अन्तरले काँग्रेसका उम्मेदवारको विजयी हुने आधार बलियो देखिन्छ ', स्थानीय कलेसु चौधरीले भने, 'कैलालीमा रामजनमको विकल्प हुन सक्दैन।'
सबै मुख्य दल र स्वतन्त्र गरी यो क्षेत्रमा प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा सात गरी १२ थारु नेता चुनावी मैदानमा उत्रिएका छन्।
कैलालीको भजनी नगरपालिकाका १, २, ३, ४, ५, ७ र ९ वडा, घोडाघोडी नगरपालिकाका सबै वडा र कैलारी गाउँपालिकाका ६ र ९ नं वडाबाहेक अरु सात वडा मिलेर बनेको क्षेत्रमा ९१ हजार ८३३ मतदाता छन्।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा रहेका दुवै नगरपालिकामध्ये घोडाघोडीमा एमाले, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माओवादीले निर्वाचन जितेका थिए। यो क्षेत्रका तीन वटा स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रले ३० हजार ५५९ मत पाएकामा काँग्रेस, फोरम लोकतान्त्रिक राप्रपाले २९ हजार १११ मत पाएका थिए।
प्रतिनिधिसभा सदस्यमा यी उम्मेदवारबाहेक राप्रपा राष्ट्रवादीका प्रेमराज चौधरी, राजपाकी मीना चौधरी, विवेकशील साझा पार्टीका दीपक गौतम, नेकपा (माले)का परेकबहादुर रावल राजमोका मेर्जन शाही, नयाँ शक्तिका डिल्लीराज जैशी पनि प्रतिस्पर्धामा छन्।
प्रदेशसभामा पनि यो क्षेत्रमा थारु नेताबीच चर्को प्रतिस्पर्धा देखिएको छ। क्षेत्र नं ३ को ‘क’ बाट प्रदेशसभामा काँग्रेसका पुरन चौधरीले वाम गठबन्धनका वीरमान चौधरी उठेका छन्। यी दुई उम्मेदवारबाहेक यो क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका जोगीराम चौधरी, नयाँ शक्तिका राजाराम चौधरी पनि प्रतिस्पर्धामा छन्।
क्षेत्र नं ३ को ‘ख’ बाट भने काँग्रेस र वाम गठबन्धन दुवैले पहाडी समुदायका उम्मेदवार बनाएका छन्। वाम गठबन्धनले अमर साउँद र काँग्रेसका लक्ष्मण शाहीबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। दुवै उम्मेदवारबीच थारु मतदाता प्रभावित गर्ने होडबाजी चलेको छ। यीबाहेक यो क्षेत्रमा राजमोका किसनबहादुर राना, नयाँ शक्तिका कृष्णकुमार चौधरी, राप्रपाका देवेन्द्र मल्ल, राप्रपा प्रजातान्त्रिकका रामनाथ चौधरी, राजपाकी सीता थारु र विवेकशील साझाका हरिनन्द जोशी पनि प्रतिस्पर्धामा छन्।