प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राजधानीको ओम अस्पतालमा उपचार गराइरहेका नेता विमलेन्द्र निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बुधबार बिहान अस्पताल गएका प्रधानमन्त्री देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
आजै महामन्त्री डा. शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन्।
कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले हेरिरहेको छ। चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन्।
धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आएका थिए।
त्यसक्रममा धुलोधुवाँका कारण केही असहज भएपछि उनी सोमबार राजधानी आएर अस्पताल भर्ना भएका थिए।