कांग्रेस नेता प्रकाशशरण महतले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने र सरकार बनाउने दाबी गरेका छन्।
काठमाडौं-५ बाट प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका नेता महतले लोकतन्त्र पक्षधरका शक्ति भएकाले कांग्रेसले बहुमत ल्याउने दाबी गरे।
'स्वतन्त्रताको जगमा आफ्नो सीपको प्रयोग गर्ने र पूर्ण स्वतन्त्रता हुनुपर्छ भन्ने शक्ति हौं, त्यसैले अबको निर्वाचनमा कांग्रेसलाई नै जनताले अत्यधिक मत दिनुहुन्छ,’ उनले भने।
महतले एमाले–माओवादी केन्द्रका नेताहरु उल्टो बाटोमा हिँड्न खोज्दै गरेको आरोप लगाए।
उनले भने,‘उहाँहरु उल्टो बाटोमा हिँड्न खोज्दैहुनुहुन्छ, उहाँहरुको उद्देश्यभनेको एउटा दल सर्वेसर्वा हुने र शासनगर्ने, त्यो बाटो असफल बाटो हो, यसले जनताको चाहनापूर्ति हुँदैन।’
सुरुमा दुई तिहाई बहुमत ल्याउने र एकदलीय अधिनायकवादी शासन गर्छु भनेपछि जनताले त्यो कुरा स्वीकार नगरेकोले अहिले आएर वाम गठबन्धनले आफूहरु लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा नै अघि बढ्ने बताउँदै आएको उनको कथन छ।
उहाँहरुको बाटो जनताले हामीलाई ठिक लागेन भन्नुभयो, त्यसैले उहाँहरुले व्यवहारमा लोकतान्त्रिक बाटोमा हिँड्छौं भन्नुभएको छ, जनताले निर्णायक रूपमा हराउँछन भनेर उहाँहरु प्रतिरक्षात्मक रूपमा चिच्याइरहनुभएको छ,’ उनले भने।
उनले कांग्रेसले उडन्ते कुराको साटो काम गर्ने गरेको दाबी गरे।
‘हामीले त काम पनि गरेका छौं, तर हाम्रो कमजोरी हामी मार्केटिङ गर्न जान्दैनौं, यो हाम्रो कमजोरी हो, लेनिनको पालादेखि उहाँहरु त सेतोलाई कालो बनाउने र कालोलाई सेतो बनाउन खप्पिस हुनुहुन्छ,’ महतले भने, ‘हामी त पहाड बराबरको काम गर्दा पनि तिलजतिको पनि प्रचार गर्दैनौं।’