काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार राजन भट्टराईले वाम गठबन्धनले दुई तिहाई मत ल्याउने दाबी गरेका छन्।
उनले भने,‘हाम्रो गठबन्धनको दुई तिहाई आउन सक्छ, यदि आएन भने स्पष्ट बहुमत त आउन कसैले रोक्न सक्दैन।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले वाम गठबन्धनलाई जनताले रुचाएको कारण दुई तिहाई मतआउने दाबी गरेका हुन्।
उनले कम्युनिष्ट सरकार बन्नु आतंकित हुनुपर्ने कुरा नभएको भन्दै आफूहरुले लोकतान्त्रिक अभ्यासबाट नै सरकार बनाउने बताए।
‘कांग्रेसका नेतासित ०१५ सालमादुई तिहाई टिकाउन नसकेको इतिहास छ, त्यस्तै धेरै चोटी बहुमत टिकाउन नसकेको अर्को तितो इतिहास छ, कांग्रेस असान्दर्भिक पार्टी हो। लोकतन्त्रका लागि हाम्रा नेताहरुले जति त्याग, बलिदानी कांग्रेसका अहिलेका नेताहरू गर्नुभएको छ त?’ भट्टराईले भने।
अहिलेको संविधानको उद्देश्यमा नै मुलुक अब समाजवादउन्मुख हुन्छ भनेकोले सोही लक्ष्य प्राप्तिको लागि आफूहरू लागि पर्ने उनको भनाइ थियो।
उनले आफूहरू एकदलीय अधिनायकवादको पक्षमा कदापी नरहेको जिकिर गर्दै भने,‘०४९ सालमानै हामीले एकदलीय अधिनायकवादको मुद्दा छोडेका छौं।’
उनले वाम गबठन्धन भारत वा चीन विरोधी नभएको भन्दै नेपालको हितको पक्षमा रहेको बताए। भट्टराईले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली रहेको समेत उनले सुनाए।
‘भावी प्रधानमन्त्रीले मलाई चुनाव जितेपछि परराष्ट्रमन्त्री बनाउँछु भन्नुभएको छ,’ उनले भने।