निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिले उपप्रधानमन्त्री कमल थापासँग आचारसंहिता उल्ङ्घन किन गरेको भन्दै स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो।
'माननीय उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ,' आयोगले भनेको छ।
आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा पहिलो चरणको निर्वाचन हुँदैछ। त्यसका लागि मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।
मौन अवधि सुरु भएपछि उपप्रधानमन्त्री थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेपछि आयोगले स्पष्टीकरण सोधेको हो।
स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार, काठमाडौं र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत दिइएको आयोगले जनाएको छ।
आयोगले थापासँग सोधेको स्पष्टीकरण यस्तो छ:
आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सन्दर्भमा मिति २०७४/०५/१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ। आगामी मंसिर १० गते हुन गइरहेको प्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा माननीयज्यूले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (घ) को उपखण्ड (१) विपरीत देखिएको हुँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४/०८/०८ को निर्णयानुसार अनुरोध छ।’