आइतबार हिमाली र पहाडी जिल्लाका मतदाता चिसो मौसम छिचोल्दै भोट हालिरहेका छन्। हिमाली क्षेत्रमा पर्ने जिल्लामा बिहान सात बजेदेखि नै मतदान सुरु भए पनि मतदाताको संख्या पातलो थियो। अहिले भने मतदाताहरु बढिरहेका छन्।
प्रदेश नम्बर छ को जुम्लामा आज न्यूनतम तापक्रम माइनस २.५ डिग्री सेल्सियस पुगेको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द चौलागाईँका अनुसार त्यहाँ पानी जमेर बरफ भएको छ तर हिउँ नपरेकाले मतदानमा धेरै कठिनाइ भएको छैन।
‘बिहान एकदमै चिसो थियो तर घाम लागेकाले अहिले न्यानो भइरहेको छ,’ चौलागाईँले भने, ‘घाम लागेपछि मतदाता आउने क्रम पनि बढेको छ।’
संघीय संसदको १ र प्रदेश सभाका २ निर्वाचन क्षेत्र रहेको जुम्लामा ९० मतदान केन्द्र छन्। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको पनि चौलागाईँले जानकारी दिए।