ताप्लेजुङ जिल्ला अदालतमा सोमबारदेखि एमाले र माओवादी कार्यकर्ता पालैपालो धाइरहेका छन्। त्यहाँ गएर उनीहरु चार/चार घन्टा 'ड्युटी' गर्छन्। वाम गठबन्धनले उनीहरूलाई मंसिर २१ गतेसम्म यही 'ड्युटी'मा खटाउने निर्णय गरिसकेको छ।
जिल्ला अदालतका चार कोठामा मतपेटिका राखिएको छ। ढोकामा एउटा ताला निर्वाचन आयोगको छ भने अर्को ताला वाम गठबन्धनको।
एमाले प्रतिनिधि धनेन्द्र मादेनका अनुसार सोमबार साँझदेखि एमालेका २ र माओवादीका १ कार्यकर्ताले चार/चार घन्टाका मतपेटिका राखेका कोठा बाहिर ड्युटी गरिरहेका छन्।
‘बिहान ६ बजेदेखि ड्युटी सुरु हुन्छ। राति १० बजेसम्म बस्नेले चार/चार घन्टा कुर्नुपर्छ,’ मादेनले भने, ‘१० बजेपछि बस्ने साथीहरूलाई त्यहीँ छेउमा सुत्न पनि मिल्ने व्यवस्था गरेका छौं।’
अदालत भवनको ग्यालरीमा सुत्न सिरक डसना पार्टीले नै किनेको उनले जानकारी दिए।
यसरी 'ड्युटी' मा बसेकासँग मतपेटिका राखेको कोठाको साँचो भने दिइएको हुँदैन। ‘त्यहाँ बस्नेले नै पनि तलमाथि गरिदिन सक्छन् भनेर साँचो पार्टी कार्यालयमै राख्ने निर्णय गरेका छौं,’ मादेनले भने।
११ दिनसम्म मतगणना नहुँदा आफूहरुलाई हैरानी भएको उनले बताए। ‘कसैले बाध्य पारेको त होइन तर फेरि केही भइहाल्ला कि भन्ने चासो भएकाले बसेका हौं,’ मादेनले भने, ‘त्यत्तिकैै छोडयौं भने के थाहा जे पनि हुन सक्छ नि।’
मादेनजस्तै मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा दलका कार्यकर्तालाई अहिले मतपेटिका कुर्ने ‘ड्युटी’ थपिएको छ। जिल्ला सदरमुकाममा ल्याइएका मतपेटिकाको निगरानीमा उनीहरू रातदिन नभनी खटेका छन्। मतपेटिकामा केही भइहाल्ला कि भन्ने शंका कांग्रेसभन्दा वाम गठबन्धनका कार्यकर्तालाई बढी छ।
कालिकोटमा मतपेटिका निगरानी गरिरहेका माओवादी नेता नरेश शाहीलाई मतपेटिका राखेका ठाउँमा नगए २०३७ साल दोहोरिएला कि भन्ने शंका छ।
‘भित्र बस्न हामीलाई अनुमति छैन, बेलाबेलामा गएर हेरेर फर्किन्छौं,’ शाहीले टेलिफोनमा सेतोपाटीसँग भने, ‘गाह्रो त छ, तर यति नगरे २०३६ साल नदोहोरिएला भन्न सकिन्न।’
२०३७ सालको जनमत संग्रहमा मतपेटिकामा धाँधली गरेर पञ्चायतलाई जिताइएको भन्ने बहुदल पक्षको आरोप थियो।
मान्मस्थित जिल्ला अदालत भवनका चार वटा कोठामा मतपेटिका राखिएको छ। कोठामा दलहरुले आफ्ना ताला भने नलगाएको शाहीले जानकारी दिए।
‘दलले ताला लगाएका छैनन्, एक पटकमा गठबन्धनका २ र कांग्रेसका २ जना गएर हेर्नुहुन्छ, बस्न अनुमति छैन, छिर्न पास बनाएका छौं,’ शाहीले भने, ‘ड्युटी परेका साथीहरू नजिकैको होटलमा बसिरहनुभएको छ।’
मतपेटिकामा केही हुँदैन भन्नेमा सत्तारुढ कांग्रेस कार्यकर्ता भने ढुक्क देखिन्छन्। कतिपय ठाउँमा उनीहरुले मतपेटिका हेर्न प्रतिनिधि पनि पठाएका छैनन्।
ओखलढुंगाका मतपेटिका राखिएको जिल्ला समन्वय समितिको हलमा चार वटा ताला लगाइएको छ। कांग्रेस जिल्ला सचिव रुद्र अधिकारीका अनुसार हलको ढोकामा निर्वाचन आयोग, कांग्रेस, एमाले र माओवादी केन्द्रले ताला लगाएका हुन्।
‘त्यहीँ बस्न चाहनेका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले चउरमा टेन्ट पनि राखिदिएको छ,’ अधिकारीले भने, ‘एमाले र माओवादीका साथीहरु बस्नुहुन्छ होला हामीचाहिँ ड्युटी गर्दैनौं होला किनकी हामीलाई सुरक्षा निकायप्रति पूर्ण विश्वास छ।’
निर्वाचन आयोगले चुनाव भएका सबै जिल्लाका मतपेटिका मंगलबार साँझसम्म सदरमुकाम ल्याएर सुरक्षित राखिने जनाएको छ।