चार वर्षअघि संविधान सभाको दोस्रो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई ठाउँमा उम्मेदवार थिए। काठमाडौं र सिरहामा उम्मेदवार बनेका दाहालले आफू उठेको क्षेत्रभन्दा बढी बाहिरै समय बिताए। चुनावी सभालाई सम्बोधन गर्न उनी हेलिकप्टरमार्फत् देश दौडाहा निस्किएका थिए।
नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल भने आफ्नै क्षेत्रमा मात्र केन्द्रीत भए।
यसपालि ठ्याक्कै उल्टो भएको छ। चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका माओवादी अध्यक्ष दाहाल चितवनमै ‘ग्राउन्डेड’ भएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो क्षेत्रमा कम र हेलिकप्टरमा देशव्यापी प्रचारमा बढी निस्किएका छन्। उनीहरु आफूले जित्नेमा ढुक्कजस्ता देखिन्छन्।
एमाले अध्यक्ष ओलीले एकदिनमा सात वटा चुनावी सभा सम्बोधन गरेका छन्।
उनका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मंसिर ६ गते ओलीले नवलपरासीको चोरमारा, रुपन्देहीका सुनवल, बुटवल, कपिलवस्तुको अमरावती, दाङका घोराही र तुलसीपुरमा चुनावी सभा सम्बोधन गरे। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण ओलीले घोराहीदेखि तुलसीपुरको २४ किलोमिटर दुरी पनि हेलिकप्टरबाट पार गरेका थिए।
त्यो दिन घोराहीमै बसेका ओली अर्को दिन खान खान सुर्खेत पुगे। दैलेखका नारायणनगरपालिका र दुल्लुका चुनावी सभालाई सम्बोधन गरेर उनी अछाम पुगे। केहीबेरमा उनले डडेल्धुराको चुनावी सभालाई सम्बोधन गरे। त्यही दिन बैतडी जाने कार्यक्रम भए पनि हेलिकप्टरमा प्राविधिक समस्या आएकाले उनी डडेल्धुरामै बास बसे।
[caption id="attachment_109265" align="alignnone" width="960"]
हेलिकप्टरबाट झरेर बाग्लुङको गलकोटमा चुनावीसभा सम्बोधन गर्न जाँदै अध्यक्ष अोली। तस्बिर स्रोत: चेतन अधिकारीको फेसबुक।[/caption]
अर्को दिन धनगढी झरेका ओली केहीबेरमा कञ्चनपुर पुगे। अनि कैलालीको लम्कीको चुनावी सभामा भाषण गरेर नेपालगञ्ज हुँदै काठमाडौं फर्किए।
मंसिर ९ गते चुनावी सभालाई सम्बोधन गर्न ओली पोखरा पुगे। तनहुँका दमौली र खैरेनीका सभामा पनि भाषण गरेर उनी साँझ काठमाडौं फर्किए।
मंसिर ११ गते भैरहवाको दुई वटा कार्यक्रमलाई सम्बोधन गरेका ओली केहीबेरमा उपाध्यक्ष गौतमको क्षेत्र बर्दिया पुगे। त्यहाँका चुनावी सभामा सकेर उनी साँझ काठमाडौं फर्किए।
केही दिनअघिसम्म केही क्षेत्रमा माओवादी अध्यक्ष दाहाल पनि ओलीसँगै हिँडेका थिए। छुट्टै हेलिकप्टर दाहाल संयुक्त चुनावी सभालाई सम्बोधन गर्न भैरहवा, स्याङ्जा, गोरखा, पर्वत, बाग्लुङ र झापा गएका थिए।
मंसिर ३ गते झापामा रहेको दाहाल छोरा प्रकाशको निधन भएपछि काठमाडौं फर्किए। केही दिन चुनावी अभियान स्थगित गरेका दाहाल अहिले आफ्नै चुनावी क्षेत्रमा छन्। अब उनी १५ गतेसम्म चितवनमै बस्ने र १६ गते झापा जाने कार्यक्रम छ।
[caption id="attachment_109266" align="alignnone" width="848"]
चितवनको माडीमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष दाहाल। तस्बिर स्रोत: सिएमप्रचण्ड डटकम।[/caption]
यो अवधिमा माओवादीका अर्का रामबहादुर थापा ओलीसँगै हेलिकप्टरमा उडे।
प्रेस संयोजक अधिकारीले निर्वाचन आयोगको स्वीकृति लिएर ओलीले हेलिकप्टर चढेको र पार्टीले पैसा तिर्ने बताए।
यता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि आफू उम्मेदवार भएको डडेल्धुराभन्दा धेरै देशका अन्य भागमा पुगेका छन्।
मंगलबार उनी हेलिकप्टर लिएर ६ सभामा पुग्दैछन्। प्रधानमन्त्रीका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारका अनुसार मंगलबार देउवा तनहुँको मिरलुङको शोकसभा सकेर भैरहवा पुगेका छन्। भैरहवामा चुनावी सभा सम्बोधन गरे उनी तौलिहवा पुग्नेछन् भने आजै दाङका लमही, घोराही र तुलसीपुरमा उनले सम्बोधन गर्ने कार्यक्रम छ।
[caption id="attachment_109267" align="alignnone" width="735"]
तेह्रथुमको म्याङलुङमा हेलिकप्टरबाट झरेर चुनावी सभातर्फ जाँदै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा। तस्बिर स्रोत: गोविन्द परियारको ट्वीटर।[/caption]
यसअघि देउवा कात्तिक २५ गते हेलिकप्टर लिएर ताप्लेजुङ पुगेका थिए। त्यही दिन उनले पाँचथरमा पनि चुनावी सभालाई सम्बोधन गरेका थिए। यसबीचमा उनी लुक्ला, डडेल्धुरा, दार्चुला, बैतडी, बाजुरा, कालिकोट, रुकुम, रोल्पा नवलपरासी, पाल्पा, तेह्रथुम, झापा र सुनसरी हेलिकप्टरमार्फत पुगेका छन्।
मंसिर १३ गते प्रधानमन्त्री देउवा स्याङ्जा र पोखरा जाने कार्यक्रम छ।
‘निर्वाचन आयोगले हरेक पार्टीका तीन वटा नेतालाई हेलिकप्टर चढ्ने सुविधा दिएको छ, स्वीकृति लिएरै प्रधानमन्त्री हेलिकप्टर चढ्नुभएको हो,’ परियारले भने, ‘हेलिकप्टरको भाडा कांग्रेसले तिर्ने हो।’
निर्वाचन आयोगले स्वीकृति लिएर तोकिएको खर्चभित्र हेलिकप्टर प्रयोग गर्न सकिने बताएको छ। एउटा दलले चुनावी प्रचारका लागि तीन वटा हेलिकप्टर प्रयोग गर्न सक्ने सुविधा आयोगले दिएको छ।