निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा आचार संहिता उल्लंघन गरेको भन्दै नेकपा एमाले र पाँच राष्ट्रिय दैनिकसँग २४ घन्टे स्पष्टिकरण सोधेको छ।
मंसिर १२ गते प्रकाशित कान्तिपुर, नागरिक, अन्नपूर्ण, नयाँ पत्रिका र राजधानी दैनिकमा छापिएको एमालेको विज्ञापनबारे आयोगले स्पष्टिकरण सोधेको हो।
विज्ञापनमा एमाले अध्यक्ष ओलीको तस्बिरसहित सूर्य चिह्नमा मतदान गर्न आह्वान गरिएको थियो। आयोगले मंगलबार साँझ स्पष्टिकरण सोधेको हो।
आयोगका सहन्यायाधिवक्ता दीपाप्रसाद तिमिल्सिनाका अनुसार एमालेले एक दिनमा एक पत्रिकामा मात्र विज्ञापन छाप्न पाइने कुराको उल्लंघन गरेकाले र पत्रिकाले तोकिएको आकारभन्दा ठूलो विज्ञापन छापेकाले स्पष्टिकरण सोधिएको हो।
‘एमालेले एकै दिनमा पाँच पत्रिकामा ठूलो आकारमा विज्ञापन छापेको पाइयो,’ तिमिल्सेनाले सेतोपाटीसँग भने, ‘विज्ञापन छाप्दा आकारलाई ध्यान नदिएकाले पत्रिकालाई स्पष्टिकरण सोधेका हौं।’
निर्वाचन आचारसंहिता २०७२ को दफा ५ को खण्ड (ख १) मा राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफएमका माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा कम्तीमा एक घन्टाको अन्तरालमा चौबीस घन्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै पत्रपत्रिकाका माध्यमबाट प्रचार–प्रसार गर्दा प्रत्येक दिन बढीमा ७×७ इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने उल्लेख गरिएको छ।
सोही खण्डमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घन्टाको अन्तरालमा चौबीस घन्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रशारण गर्न सकिने व्यवस्था छ।
प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घन्टाको अन्तरालमा चौबीस घन्टामा बढीमा दुई पटक र एक पटकमा बढीमा ४५ सेकेन्ड प्रशारण गर्न सकिने आचारसंहितमा उल्लेख छ।
एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आयोगको स्पष्टिकरणका बारे केहीबेरमा पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने बताए।
‘हामी केहीबेरमै विज्ञप्ति निकालेर पार्टीको धारणा सार्वजनिक गर्दैछौं,’ रिमालले भने।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले हरेक चुनावमा सञ्चारमाध्यमले आचारसंहितको पालना गर्दै आएको र दलहरुले पनि पूर्ण पालनाको प्रतिवद्धता जनाएकाले यसपालि पनि त्यही अपेक्षा गरेको बताए।