अज्ञात समूहले राखेको एम्बुस पड्किदा घाइते भएका पूर्वसांसद तथा उदयपुर–२ का नेपाली कांग्रेस उम्मेदवार नारायण कार्कीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
जिल्लाको नेपालटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा बुधबार बिहान साढे ९ बजेतिर कार्की चढेको गाडी एम्बुसमा परेको थियो। एम्बुस पड्किदा गाडीमा रहेका कार्कीको टाउको चोट लागेको छ भने चालकको खुट्टा छिनालिएको छ। घटनामा थप चार जना घाइते भएका छन्।
‘नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई काठमाडौं ल्याइएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, ‘त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।’
कार्की २०७० सालको संविधान सभामा उदयपुर–३ बाट निर्वाचित भएका थिए।
हिजोमात्रै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरेको आमसभा नजिकै बिस्फोट हुँदा दाङमा एक म्यादी प्रहरीको मृत्यु भएको थियो। ललितपुरमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थल नजिकै पनि बिस्फोट भएको थियो।
पछिल्लो समय देशभरि बिस्फोटका घटना बढेपनि यसको जिम्मेवारी कसैले लिएको छैन। प्रहरीले चुनाव भाँड्ने घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिस्फोट गराएको आशंका गर्दै आएको छ।
त्यही आशंकामा सो पार्टीका दर्जनौं कार्यकर्ता पक्राउ गरिए पनि बिस्फोटको श्रृंखला भने रोकिएको छैन।