सरकारले मकवानपुरको रातोमाटेदेखि चौकीटोलसम्मको पूर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ।
बिहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि कायम भएको मकवानपुरको रातमाटेदेखि चौकीटोलसम्मको पूर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाई रातमाटेदेखि राप्ती पुलसम्म ३ किलोमिटर सडकखण्डको बाईपासलाई राजमार्गको रुपमा निर्माण गर्ने निर्णय गरेको हो।
सो सडक खण्डमा घनाबस्ती रहेको तथा राजमार्गको मापदण्ड अनुसारको सडक विस्तार गर्दा दायाँ बाँया पनि जग्गा खाली गर्नुपर्ने भएको सरकारले वर्षौदेखि नगर सडकको रुपमा रहेको बाईपासलाई राजमार्ग बनाउने निर्णय गरेको हो।
यो निर्णयसँगै अव वर्षोदेखि बाईपासमा आएको नगर सडक राजमार्ग बन्ने भएको छ। त्रिभुवन राजपथ अन्तर्गतको रातमाटेदेखि चौकीटोलसम्मको सडकखण्ड राजमार्गको मापदण्डमा गरिने सडक विस्तारको विषयलाई लिएर लामो समयदेखि बहसमा आएको थियो।
त्यसैगरी नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेश कुमार त्रिपाठीलाई नियुक्त गरेको छ। नेपाल चेम्बर अफ कमर्सको विधान स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने निर्णय गरेको छ। हदवन्दीका कारण प्रतिष्ठानले आवश्यक जग्गा पनि सुरक्षण गर्न पाएको थिएन।
यस्तै सरकारले पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले ट्वीटरमार्फत जनाएका छन्।
https://twitter.com/KTnepal/status/936222272943046656
यसअघि २०६३ को परिवर्तनपछि पृथ्वी जयन्तीमा विदा दिने चलन हटाइएको थियो। यसअघि पनि नेपालको एकीकरण गरेका शाहको सम्मानमा उनको जन्मदिन एकता दिवसको रूपमा मनाउने माग उठ्दै आएको थियो।
विस १७७९ पुस २७ गते गोरखामा जन्मेका शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए।
https://www.youtube.com/watch?v=Ojf3aDORtzI&feature=youtu.be