धादिङ प्रहरीले तीन वटा बम ल्याएर काठमाडौं आउन लागेका दुई जनालाई पक्राउ गरेको छ।
धादिङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले दिएको जानकारी अनुसार बिहान साढे ८ बजेतिर खानीखोलामा नियमित चेकजाँचका क्रममा बमसहित दुई जना पक्राउ परेका हुन्।
‘एउटा साढे दुई लिटरको प्रेसकुकर बम र दुईटा सकेट बम सहित दुई जना पक्राउ परेका छन्,’ एसपी राउतले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं।’
झापाको काँकडभित्ताबाट काठमाडौं आइरहेको ना७ ख ४९७६ नम्बरको बसबाट बमसहित दुई जना पक्राउ परेका हुन्।
पछिल्ला दिनमा देशभरि बिस्फोटका श्रृंखला बढिरहेका छन्। दाङमा भएको बिस्फोटमा परी म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको छ भने उदयपुरका कांग्रेस उम्मेदवार नारायण कार्की बिस्फोटमा परी घाइते भएका छन्।
देशभरि चुनावी कार्यक्रमलाई लक्षित गरी बिस्फोट गराइए पनि आधिकारीक जिम्मेवारी कसैले लिएको छैन। प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बिस्फोट गराएको हुन सक्ने बताउँदै आएको छ।