मंसिर २१ गते हुने चुनावको प्रचार गर्न आज अन्तिम दिन हो। ४५ जिल्लाका १२८ क्षेत्रका उम्मेदवार अन्तिम चुनावी प्रचार गरिरहँदा उदयपुर–२ का कांग्रेस उम्मेदवार नारायण कार्की भने अस्पतालको शैयामा छन्।
पछिल्लो समय निर्वाचन विथोल्न देशभरि बम पड्किरहेका छन्। दाङमा म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो।
मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव ५१८४ उम्मेदवारमध्ये कार्की मात्र यस्ता उम्मेदवार हुन्, जो मतदानको हप्तादिन अघि अस्पतालको शैयामा पुगे। बिरामी भएर होइन्, बम आक्रमणमा घाइते भएर। उनलाई अहिले त्रिवि शिक्षण अस्पातलको अाकस्मिक कक्षमा राखिएको छ।
मंसिर १३ गते उदयपुरको गढी गाउँपालिका– ६ मा कार्कीलाई लक्षित गरी प्रहार भएको थियो। बम विष्फोटमा घाइते भएका कार्कीको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको अनुहार र खुट्टामा गहिरो चोट लागेको छ। उपचारमा संलग्न डाक्टर रोहित पोख्रेलका अनुसार उनको दाहिने खुट्टाको नलीहडडी र गोडा भाँचिएको छ। छाला जलेको छ। देब्रे खुट्टाको कुर्कुच्चा भाँचिएको छ। दायाँ हातमा चोट लागेको छ। रगत कम छ। उनलाई क्रिटिकल टिमले हेरिरहेको छ। बाँया खुट्टामा स्टिल राखिएकाले कार्कीलाई डिस्चार्ज गर्न अझै महिना दिन लाग्ने चिकित्सकले बताएका छैन।
अस्पतालमा बस्नु परेर पछिल्लो समय मतदाताकहाँ जान नपाएका कार्कीले मौन अवधि सुरु हुनुभन्दा अघि शान्ति,समृद्धि,लोकतन्त्रको संरक्षण,संविधानको कार्यान्वयन र विकासको लागि पार्टीलाई र आफूलाई मत दिन अपिल गरेका छन्।
कार्कीले आफ्नो क्षेत्रका सम्पूर्ण मतदातासँग प्रत्यक्ष भेटेर मत माग्ने चाहना हुँदाहुदै पनि लोकतन्त्र विरोधी आक्रमणकारीको निशानामा परेर अस्पतालमा थन्कन परेको उल्लेख गर्दै पार्टीका जिल्ला नेताहरु र आफूप्रति माया गर्ने सबैले निर्वाचन अभियानलाई सुचारु गरेको आभार व्यक्त गर्दै गरेका छन्।
‘मेरो क्षेत्रका क्षेत्रका सबै गाँउ र नगरका वडा वडाका बासिन्दाहरुको आवश्यकता र आकांक्षाका बारे राम्रो जानकारी छ,’ कार्कीले भनेका छन्, ‘जनताका समस्याको समाधान र विकासको चाहनालाई अब आउने नेपाली कांग्रेसको सरकारले पूरा गर्नेछ।’
कार्कीसँगै चुनाव प्रसारमा रहनु भएका निरा कटुवाल, धनमाया धौलाकोटी, राजन कार्कीसहित अन्य ३ जना घाइते भएका थिए। निरा कटुवालको गोडा काम नलाग्ने भएकोले काटेर फाल्नु परेको छ।