बिहीबार देशका ४५ जिल्लामा प्रदेश र प्रतिनिधि सभाका लागि मतदान जारी छ। निर्वाचन आयोगले देशभरि उत्साहपूर्ण तरिकाले मतदान भइरहेको जनाएको छ। आयोगका अनुसार दुई बजेसम्म ५० प्रतिशत मतदान भएको छ।
तर सप्तरीको एक मतदान केन्द्रमा भने दिउँसो साढे तीन बजेसम्म पनि एक जनाले पनि भोट हालेका छैन्।
सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले दिएको जानकारी अनुसार जिल्लाको महादेवा गाउँपालिकाको आधारभूत प्राथामिक विद्यालय केन्द्रमा एउटा पनि भोट खसेको छैन। सो केन्द्रमा ९ सय जनाले भोट हाल्ने गरी आयोगले सम्पूर्ण तयारी पूरा गरेको थियो।
‘हाम्रा कर्मचारी कुरेर बसेका छन्, तर अहिलेसम्म कोही पनि भोट हाल्न आएको छैन,’ ढुंगानाले भने, ‘हामी पाँचबजेसम्म कुर्छौं।’
यो मधेस छुट्टै देश हुनुपर्छ भनेर आन्दोलन गरिरहेका सिके राउतको गाउँ हो। राउतलाई चुनावविरोधी गतिविधिमा लागेको भन्दै आज बिहान प्रहरीले जनकपुुरबाट पक्राउ गरेको छ।