मंसिर १० गते मतदान भएका ३२ जिल्ला बिहीबार साँझ पाँच बजेदेखि मतगणना सुरु भएको छ।
प्रतिनिधि सभाका ३७ सिट रहेका ती जिल्लामा दल र आयोगले पाँच बजेअघि नै मतगणनाको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएका छन्।
कम मतदाता भएका मनाङ र मुस्ताङको अन्तिम परिणाम शुक्रबार बिहानसम्म आइसक्ने अपेक्षा गरिएको छ।
आज मतदान भएका ४५ जिल्लामध्ये अधिकांशमा भने शुक्रबारदेखि मात्र हुनेछ। केहीमा आजै मध्यरातबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृतहरुले जनाएका छन्।
इलाममा भोलि बिहानदेखि मात्र मतगणना सुरु हुने भएको छ। रातभर मतपेटिका आउने क्रम चल्लने भएकोले भोली विहानसम्म सर्वदलीय सहमतिअनुसार गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए।
झापामा भने सर्वदलीय सहमतिअनुसार मतगणना आजै सुरु गरिने भएको छ। पाँच बजेपछि मतपेटिका संकलनको क्रम सुरु हुने र सबै मतपेटिका १० बजेभित्र संकलन भएपछि तर सर्वदलीय सहमतिअनुसार गणना सुरु गर्न सकिने मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताए।
सुनसरीमा कति बेलादेखि मतगणना सुरु गर्ने भनेर अहिले नै निक्र्यौल नभएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मतपेटिका संकलन मध्यरातसम्म भएपनि सर्वदलीय सहमतिमा मतगणनाको समय निर्धारण हुनेछ।
सिराहमा रातिको १२ बजेसम्म सबै क्षेत्रका मतपेटिका आउने र निर्वाचन कार्यालय त्यही अनुसार गणनाको तयारीमा रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले बताए।
रुपन्देहीको मतगणनाका लागि मध्यरातसम्म सर्वदलीय बैठक बस्ने भएको छ। रुपन्देहीका पाचै क्षेत्रको मतपेटिका भैरहवा आइपुग्न झण्डै ११ बज्ने भएकोले त्यसपछि मात्रै सर्वदलीय बैठक बस्ने रुपन्देहीका मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले सेतोपाटीलाई बताए।
सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्दा भोलि बिहान हुन सक्ने पौडेलले बताए।
दाङमा पनि भोलि बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ। दाङका तीन क्षेत्रको मतपेटिका सदरमुकाम ल्याउँदा मध्यरात हुने भएकोले त्यसपछि मात्रै सर्वदलीय बैठक बस्ने निर्वाचन अधिकृत श्रीलाल पौडेलले सेतोपाटीलाई बताए।
‘मतपेटिका ल्याउनका लागि मात्रै तीन घन्टाभन्दा बढी समय लाग्ने ठाउँ पनि छन्,’ उनले भने,‘ मतदान सकेर मतपेटिका ल्याउँदा मध्यरात हुन्छ। त्यसपछि सर्वदलीय बैठक सकेर मतगणना सुरु हुदा भोलि बिहान हुन्छ होला।’
बाँकेमा आज राती अबेरसम्म भए पनि मतगणना सुरू गरिने भएको छ। सबै मतदान केन्द्रका मतपेटीका दस बजेसम्म आइपुग्ने र त्यसपछि सर्दवलीय बैठक बोलाइने मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले सेतोपाटीलाई बताए।
उनले सम्भव भएसम्म आज राति र नभए भोलि बिहानैदेखि मतगणना सुरु हुने बताए। बर्दियामा भने भोलि बिहानबाट मात्रै मतगाणना सुरु हुने भएको छ। मतपेटिकाहरू आइपुग्न राती बाह्र बज्ने भएकोले भोलि बिहान मात्रै सर्वदलीय बैठक बोलाइएको बर्दियाका निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिए।
कपिलवस्तुमा राति ११ बजेभित्र मतपेटिका आइसक्ने भए पनि आजै मतगणना हुने/नहुने टुंगो नभएको मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायले बताए।
‘राति ११ बजेसम्म मतपेटिका आइपुग्ने अनुमान गरिएको छ। मतपेटिका आइपुगेलगत्तै सर्वदलीय बैठक बस्छौं। बैठकको निर्णय अनुसार आज वा भोलिदेखि हुन सक्छ,’ उपाध्यायले भने।
बारामा भने भोलिदेखि मतगणना हुने भएको छ। मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार भोलि बिहान ५ बजेभित्र मतपेटिका आइपुग्ने र बिहान १२ बजेदेखि मतगणना हुनेछ।
चितवनमा पनि बिहान १० बजेबाट मतगणना सुरु हुने भएको छ। ‘रातको १२ बजेभित्र मतपेटिका संकलन हुन्छ। यसकारण भोलि बिहान सर्वदलीय बैठक बसेर १० बजेबाट मतगणना सुरु गछौं,’ चितवन मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्मा भन्छन्।
पर्सामा पनि भोलि बिहान १० बजेदेखि नै मतगणना हुने भएको छ। मुख्य ३ र ४ नम्बर क्षेत्रको मतपेटिका आउन समय लाग्ने हुनाले भोलि बिहान मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताए।
स्याङजा र तनहुँमा भने भोलि दिउँसोदेखि मतगणना हुने भएको छ।