पहिलो पटक देशमा प्रदेश सभाको चुनाव हुने भएपछि केन्द्रीय राजनीतिमा छवि बनाइसकेका केही नेता प्रदेश सभामा चुनाव लडे। प्रतिनिधि सभा सदस्य बनेका र मन्त्री पनि भइसकेका उनीहरू मुख्यमन्त्रीको दाबीसहित प्रदेश गएका हुन्।
मुख्यमन्त्रीको दाबेदारीसहित प्रदेश झरेका वाम गठबन्धनका 'हेभी वेट' उम्मेदवारले अग्रता लिइरहेका छन्। तीमध्ये केहीको मतान्तार निकै फराकिलो भने केही झिनो मतले अगाडि छन्।
एमालेका नेता एवं धादिङ क्षेत्र नम्बर १को प्रदेश नम्बर १ का उम्मेदवार राजेन्द्र पाण्डे झन्डै ६ हजार मतले अगाडि छन्। पाण्डेले ९ हजार ८ सय ७५ मत ल्याएका छन्। नेपाली कांग्रेसका मुदुकुमार श्रेष्ठले ३ हजार ८ सय ७८ मत ल्याएका छन्।
भोजपुरको प्रदेश नम्बर २ का उम्मेदवार बनेका पूर्व सञ्चारमन्त्रीसमेत रहेका एमाले नेता शेरधन राई तेब्बर मतले अगाडि रहेका छन्। पछिल्लो मत परिणाममा राईले ७ हजार १ सय ५९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका गोविन्दबहादुर कार्कीले २ हजार ३ सय ६१ मत पाएका छन्।
लमजुङबाट एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले भने थोरै मतले अग्रता लिएका छन्। गुरुङले ४ हजार ५ सय ३३ मत पाएका छन्। उनलाई प कांग्रेसका कृष्णप्रसाद कोइरालाले ४ हजार ५१ मतसहित पछ्याइरहेका छन्।
कालिकोटको प्रदेश नम्बर २ का माओवादी उम्मेदवार एवम् बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले पनि अग्रता लिएका छन्। उनले ३ हजार ५ सय ४७ मत पाएका छन् । शाहीलाई कांग्रेसका कालीबहादुर सहकारीले २ हजार ४ सय ४२ मत पाएका छन्।
पर्यटन मन्त्री भइसकेका कांग्रेस नेता जीवनबहादुर शाही पनि यसपालि हुम्लाबाट प्रदेश सभामा चुनाव लडेका छन्। तर उनको क्षेत्रमा अझै मतगणना हुन सकेकाो छैन।