प्रतिनिधि प्रदेश चुनावको मत परिणामअनुसार देशका अधिकांश ठाउँमा नेपाली कांग्रेसका उम्मेदवार वाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका छन् भने केही शीष नेता पनि निरन्तर पछि परिरहेका छन्।
पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला भने जारी मतपरिणाममा फराकिलो मतान्तरले अगडि छन्।
डडेल्धुराबाट प्रतिनिधि सभा उम्मेदवार बनेका कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अग्रता लिएका छन्।
प्राप्त पछिल्लो मतपरिणामअनुसार देउवाले ७७८८ मत पाएका छन् उनका प्रतिष्पर्धी माओवादीका खगराज भट्टले ४७९७ मत पाएको मुख्य निर्वाचन अधिकृत रमेश रिजालले जानकारी दिए।
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला २ हजार बढी मतका साथ अग्राता लिइरहेका छन्।
मुख्य निर्वाचन अधिकृत वावुराम सुवेदीका अनुसार १५ हजार मत गणना हुँदा कोइरालाले ७७४१ मत पाएका छन् भने माओवादी वाम गठबन्धनबाट माओवादी केन्द्रकका भविश्वर पराजुली ५३१५ मतका साथ दोस्रोमा छन्।
जारी मतगणनामा सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले अग्रता बढाएका छन्।
पछिल्लो मत परिणाम अनुसार कार्कीले ८६५६ मत पाएका छन् भने एमालेका रमेश श्रेष्ठले ६४९७ मत पाएका छन्। मतगणना जारी छ।
जारी मतगणनामा मोरङ २ मा नेपाली कांग्रेसका उम्मेदवार मिनेन्द्र रिजालले मतान्तर फराकिलो बनाएका छन्।
पछिल्लो मत परिणामअनुसार रिजालले प्रतिष्पर्धी एमालेका ऋषी पोखरेलभन्दा १६ सय बढी मत ल्याएका छन्।
अब १० हजार मत गन्न बाँकी छ। 'अब म जित्छु भन्ने आश छ,' रिजालले भने। पछिल्लो मतपरिणाममा रिजालले २७८६४ र शर्माले २६२४० मत पाएका छन्।
अहिलेसम्म कांग्रेसले रसुवा, काठमाडौं १, ४ र १०मा जित हात पारेको छ।