प्रतिनिधिसभाका १ सय २२ क्षेत्रको मत परिणाम आउँदा जम्मा तीन महिला निर्वाचित भएका छन्। ती सबै वाम गठबन्धनका उम्मेदवार हुन्।
ती मध्ये दुई माओवादी र एक एमालेका महिला उम्मेदवार छन्।
सबैभन्दा पहिले रोल्पा पूर्वबाट माओवादी उम्मेदवार कमला रोकाले जित हात पारेकी थिइन्। उनले १० हजार ४ सय ३४ मत ल्याएर कांग्रेसका हरिशंकर घर्तिमगरलाई पराजित गरेकी थिइन्।
माओवादीकी पोलिट्व्यूरो सदस्य पम्फा भुसाल चुनाव जित्ने अर्की महिला हुन्। उनले ललितपुर तिनबाट कांग्रेसकै उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी हुन्। भुसालको मत २४ हजार ३४ मत आएको छ।
त्यस्तै एमालेकी पवित्रा निरौला झापाको क्षेत्र नम्बर २बाट विजयी भएकी छन्। उनले पनि कांग्रेसकै उम्मेदवारलाई हराएर निर्वाचित भएकी हुन्। उनले ४५ हजार ८ सय १७ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्दी उद्व थापालाई पराजित गरेकी हुन्।
मत गणना जारी रहेका बाँकी क्षेत्रमध्ये २ वटामा महिलाले अग्रता दिइरहेका छन्। कन्चनपुर १मा माओवादीकी विना मगरले कांग्रेसका दिवान सिंह विष्टलाई र सुनसरी ३ मा भगवती चौधरीले कांग्रेसकै विजय गच्छदारलाई अग्रता दिइरहेका छन्।