राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा र नयाँ शक्ति नेपालले समानुपातिकमा तीन प्रतिशत मत ल्याउन कठिन हुने देखिएको छ।
प्रत्यक्षतर्फ एउटा सिट जितेका राप्रपा र नयाँ शक्ति अनि एउटा पनि सिट पनि नजितेको विवेकशिल साझा समानुपातिकतर्फको मतगणनामा पनि धेरै पछि परेका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे आठ बजेसम्म १७ लाख ५६ हजार १ सय ११ मत गणना भएको छ।
त्यसमध्ये चौथो स्थानमा रहेको विवेकशील साझाले ३८ हजार १ सय २२ मत पाएको छ। काठमाडौंमा ७७ हजार ८ सय ९४ मतगणना हुँदा विवेकशील साझाले १३ हजार ९ सय ९३ मत पाएको छ। यो १८ प्रतिशत मत हो।
ललितपुरमा अहिलेसम्म ४८ हजार २ सय ५५ मत गणना भएको छ। त्यसमध्ये विवेकशील साझाले ७ हजार ५ सय ५४ मत पाएको छ। यो झन्डै १६ प्रतिशत हो। संगठन बनिनसकेको साझाले काठमाडौंबाहिरबाट भने नगन्य मत पाएको छ।
काठमाडौंबाहिरको १६ लाख मनतगणनामा विवेकशील साझाले १८ हजारमात्र मत पाएको छ। यो गणना भएको मतको १.१ प्रतिशत हो।
अहिलेसम्मको गणनामा राप्रपाले पाँचौ बढी मत पाएको छ। उसले ३७ हजार २ सय ८२ मत पाएको छ। यो गणना भएको २.१ प्रतिशत हो। राप्रपाले प्रतिनिधि सभामा झापा १ बाट एक सिट जितेको छ। समानुपातिकमा तीन प्रतिशत मत कटाए राप्रपा राष्ट्रिय पार्टी बन्न सक्छ।
देशभरि संगठन भएको राप्रपा अघिल्लो संविधान सभामा समानुपातिकतर्फ २४ सिट जितेर संसदको चौथो ठूलो दल बनेको थियो। तर यसपालि भने उसले तीन प्रतिशत मत पाउन कठिन छ।
प्रतिनिधि सभामा एक सिट जितिसकेको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले अहिलेसम्म २५ हजार ३ सय २२ मत पाएको छ। यो गणना भएको मतको १.४ प्रतिशत हो।
त्यसमध्ये उसको बलियो प्रभाव रहेको रसुवाबाट ५ हजार ४ सय ९१ मत आएको छ।
भट्टराईको गृहजिल्ला गोरखामा ७१ हजार ९ सय ९० मत गन्दा नयाँ शक्तिले ९ हजार ९ सय ८६ मत पाएको छ।
भट्टराईको व्यक्तित्वका कारण पनि नयाँ शक्तिलाई अन्य क्षेत्रबाट मत आउन सक्छ। तर तीन लाख मत कटाउन नयाँ शक्तिलाई पनि निकै कठिन हुने सक्छ।
निर्वाचन आयोगले मंसिर १० र २१ गते भएको चुनावमा १ करोड २२ लाख मत खसेको जनाएको छ।
राष्ट्रिय पार्टी हुन प्रत्यक्षमा एक सिट जितेको दलले समानुपातिकमा सदर मतको तीन प्रतिशत भोट ल्याउनुपर्छ। दलले तीन प्रतिशत नपुर्याएमा प्रत्यक्षमा जितेका सांसद स्वतन्त्र हैसियतमा हुन्छन्। त्यो मत गणना हुँदैन।
प्रत्यक्ष एक सिट पनि नजितेको दलले तीन प्रतिशत बढी मत पाए उसले सांसद पठाउँछ तर ती स्वतन्त्र हैसियतका हुन्छन्।