समानुपातिकतर्फ सोमबार मध्यरातसम्म २० लाख ६४ हजार ५ सय ८१ मत गणना भएको छ।
अहिलेसम्मको मतगणनामा नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ। कांग्रेसले उसलाई पछ्याइरहेको छ।
पछिल्लो परिणामअनुसार कांग्रेसले एमालेभन्दा ३७ हजार ८ सय कम मत पाएको छ।
एमालेले ७ लाख ५४ हजार ७ सय २७ मत पाएको छ भने कांग्रेसले ७ लाख १६ हजार ९ सय १९ मत ल्याएको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३ लाख १८ हजार ५ सय ८४ मत पाएको छ। ४५ हजार ८ सय २३ मतसहित संघीय समाजवादी फोरम चौंथो स्थानमा छ।
विवेकशील साझा पार्टी ४३ हजार ६ सय ९० मत ल्याएर पाँचौं स्थानमा छ।
हालसम्मको मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४१ हजार ५ सय ४१ मत पाएको छ।
राष्ट्रिय जनता पार्टीले पाएको मत ३१ हजार ३ सय ५५ छ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले २८ हजार ३ सय ७१ मत पाएको छ।
निर्वाचन आयोगले मंसिर १० र २१ गते भएको चुनावमा १ करोड २२ लाख मत खसेको जनाएको छ।
कुनै पनि पार्टीले समानुपातिकमा सांसद पठाउन सदर मतको तीन प्रतिशत मत ल्याउनु पर्छ।