नेपाली कांग्रेस मुलुकका धेरै क्षेत्रमा नराम्रोसँग पराजीत भएको बेला कांग्रेस नेता प्रदीप गिरि सिरहा-१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्। निर्वाचनसँगै कांग्रेस पुनर्गठनको मुद्दा जोडतोडले उठ्न थालेको छ। यही पृष्ठभूमिमा
सेतोपाटीले गिरिसँग गरेको संक्षिप्त कुराकानीको सम्पादीत अंश:
तपाईंले चुनाव जित्नुभयो, तर कांग्रेस देशभरि हार्यो। के भन्नुहुन्छ?
व्यक्तिगत जीतहार आफैंमा ठूलो कुरा होइन। कांग्रेस हारेकोले मेरो निर्वाचन क्षेत्रमा हामीले जीतपछि कुनै नारा, जुलुस गरेनौं। तर यो हारबाट कांग्रेस, खाटी कांग्रेस र अझ प्रजातन्त्रवादीले धेरै आत्तिनु पर्ने कुरा छैन। सबैले सुन्दै आएको कुरा छकि हरेक ‘क्राइसिस’ एउटा ‘अपरचियुनीटी’ हो। बेग्लै परिस्थितिमा आजभन्दा ७० वर्ष पहिला जन्मिएको कांग्रेस कहिले आफैं बढ्यो, कहिले घचेटिएर अगाडि बढ्यो।विशेष गरी सोभियत संघको विघटनपछि भूमण्डलीकरणको तापमा कांग्रेसले आफ्नो लोकतान्त्रिक समाजवाद बिर्सियो, गान्धीवादी प्रभाव पनि बिर्सियो। कांग्रेसमा सत्ताको आकर्षणबाहेक क]ही गएन। किसुनजी, गणेशमान, विपीले स्थापित गरेको मुल्य मान्यता हरायो।
त्यसैले अहिले चुनौती आएको छ। यो चुनौतीलाई युवाहरूले प्रजातन्त्रवादी संस्कारलाई अघि बढाएर कम्तीमा पनि आगामी १५ वर्षको तयारी गर्नुपर्छ। नेपाली कांग्रेसको हारलाई अवसरको रूपमा लिनुपर्छ, हामीले अब यसको पुनर्जीवनका लागि काम गर्नुपर्छ।
कांग्रेसले विगतमा धेरै पटक हार बेहोर्यो। हन्डर खायो, तर कांग्रेस कहिल्यै बदलिएन, सुध्रिएन। यसपटक बदलिन्छ, पुनर्जीवनका लागि प्रयास गर्छ भनेर कसरी विश्वास गर्ने?ठिक भन्नुभयो। अहिले नै विश्वास गर्ने आधार छैन। हाम्रो कांग्रेससँग मिल्दोझुल्दो भारतीय कंग्रेसले पनि भारतमा हार्यो। भर्खरै त्यहाँ राहुल गान्धी कंग्रेस अध्यक्ष भएका छन्। नयाँ दृष्टि, नयाँ कार्यपद्दति दिन्छन् कि दिन्नन् भन्ने प्रश्न छ।
मैले धेरै पहिलादेखि भन्ने गरेको छु— जुन कारणले समाजमा पार्टी बन्छ, त्यही कारणले पार्टीमा गुटहरू पनि बन्छन्। पार्टीभित्र गुट बन्नु स्वभाविक पनि हो। तर केही गुट अस्वाभाविक हुन्छन्। कुनै सिद्दान्त, जीवन मूल्य र मान्यताप्रति प्रतिवद्दता नराखी फगत स्वार्थका लागि काम गर्ने गुट र गिरोहमा कांग्रेस फसेको छ। त्यसैले कांग्रेस सप्रेला र? भन्ने प्रश्न पनि छ।
म पनि यतिबेला भन्न चाहन्छु— सप्रने अवसर छ। इतिहासले पाठ सिकाएको छ। सप्रेन भने चीनको कोमिङतान जस्तै समाप्त भएर जान्छ।
विश्वका इतिहासमा पार्टीहरू आएका छन्, सिद्धिएका पनि छन्। कुनै समय बेलायतमा लिबरल पार्टी भन्ने थियो। अहिले छैन। अमेरिकामा पनि देखिएका दुई पार्टीका पूर्वजहरू अन्य विभिन्न पार्टी थिए।
कांग्रेसले देशकाल परिस्थिति अनुसार आफ्नो ऐतिहासिक अस्मिता, हैसियत बुझेर अघि बढ्नु पर्छ।
हामी किन हार्यौं भन्ने कारण खोज्न गाह्रो छैन। तर पार्टी कसरी पुनर्निर्माण गर्ने भन्ने चुनौतीपूर्ण छ। यो काम लेख लेखेर र संसदमा बोलेजस्तो होइन। तर कांग्रेसले बाटो पत्ता लगाउन सक्छ। आफ्नो आत्मविश्लेषण गर्यो भने नेपालमा मात्रै होइन दक्षिण एसियामा नै बाटो देखाउँछ। चार वर्ष हेर्दाहेर्दै बित्छ। चार वर्ष ठूलो कुरा होइन।
फेरि प्राविधिक चुनावी अभिमत फितलो हुन्छ, झिनो हुन्छ। सन् १९७२ सालमा इन्दिरा गान्धीले पाकिस्तानसँग बंगलादेशमा विजय प्राप्त गरेपछि कत्रो प्रचण्ड बहुमत ल्याइन्। तर १९७४ मा आइपुग्दा उनको बहुमत गुमेर खत्तम भयो। इन्दिराको हत्यापछि राजीव गान्धीले बाजे जवहरलालभन्दा बढी बहुमत ल्याए। फेरि त्यो पनि गुम्यो।
त्यसैले निर्वाचनको बहुमत लोकप्रियताको कसी होइन। दीर्घकालीन लोकप्रियताको त झनै होइन। त्यसैले कांग्रेस आत्तिनु पर्ने कारण छैन। समानुपातिकमा हामी एमालेसँगै बराबर भोट पाएर अघि बढेका छौं।
जनमतको बलमा सत्तामा पुगेर राज्यमार्फत् आतंक श्रृजना गर्ने, भ्रष्टचार गर्ने अनि शासन गर्ने दलमा आउने अहंमबाट फाइदा उठाएर यसलाई सिद्धान्तसँग जोड्ने हो भने हामी अघि बढ्न सक्छौ।
तर हामी बिचार गरेर अघि बढेनौं भने, बदलिएनौं भने आजको भारतीय राष्ट्रिय कांग्रेसको जुन हाल छ, हामी त्यो भन्दा तल पुग्छौं। अघिनै मैले भनिसके हामी चीनको कुमिङतान पार्टी जस्तै हराएर जानेछौं।
अब कांग्रेस परिवर्तन हुनुपर्छ भन्ने धेरै हुन्छन्। तर परिवर्तनको पहल गर्ने र त्यसका लागि निरन्तर काम गर्ने थोरै हुन्छन्। कांग्रेसलाई बदल्न तपाईं आफैं कस्तो पहल लिनुहुन्छ?मलाई धेरै मान्छेले यो गर, ऊ गर भन्छन्। राजनीतिमा चाहिने आवेग (अर्थात प्यासन) बारे मैले धेरैलाई बुझाउन सकेको छैन।
म कांग्रेसलाई बदल्न यही भूमिकामा हुन्छु भन्ने छैन। मैले कांग्रेसभित्र थुप्रै युवाहरू देखेको छु, सम्भावना बोकेका युवाहरू। उनीहरूले निर्वाचन हारे पनि, जीते पनि उनीहरूमा क्षमता छ। मैले उनीहरूलाई साथ दिनेछु। कांग्रेसलाई पुनर्जीवन दिने मुद्दामा म युवाहरूलाई साथ दिनेछु। म तत्परता र नियमितताका साथ अघि बढ्नेछु। काम गर्नेछु।