तनहुँ २ को प्रदेश सभा १ मा फर्जि मत मिसाइएको तथ्य फेला परेको भन्दै कांग्रेसले पाँच केन्द्रमा पुन मतदानको माग गरेको छ। यो क्षेत्रमा कांग्रेसका उम्मेदवार प्रदीप पौडेल जम्मा ५ भोटले पराजित भएका थिए।
विभिन्न बुथका ५ वटा बाकसमा मुचुल्का गरिएको भन्दा सदर मत संख्या बढी देखिएको भन्दै कांग्रेसले उक्त क्षेत्रको मतगणना अस्वीकार गर्ने जनाएको हो।
कांग्रेसले मंगलबार एक विज्ञप्ति जारी गरी मतगणनामा संलग्न कर्मचारीकै संरक्षणमा उक्त काम भएको भन्दै विरोध गरेको छ।
'मतगणना गर्दा विभिन्न वुथका ५ वटा वाकसमा जम्मा खसेको मत २३२८ भनी मुचुल्का गरिएकोमा मत गणना पश्चात जम्मा सदर तथा वदर मत संख्या २३७० देखिएको घटनाले मतगणनाका क्रममा फर्जि मत मिसाइएको तथ्य स्वतः स्पष्ट भएको छ।' विज्ञप्तिमा भनिएको छ 'संलग्न कर्मचारीको प्रत्यक्ष संलग्नता र निर्वाचन अधिकृतको संरक्षणमा गरिएको उक्त धाँधलीयुक्त मतगणनाको परिणामलाई नेपाली कांग्रेस अस्वीकार गर्दछ।'
यहाँ कांग्रेसका यूवा नेता प्रदीप पौडेल विरुद्ध माओवादी केन्द्रबाट उठेकी आशा कोइराला विजयी भएकी थिइन्। उनले १६ हजार ६ सय ४६ मत ल्याएर पौडेललाई पराजित गरेकी थिइन्। कांग्रेसका पौडेल उनी भन्दा जम्मा ५ भोटले पराजित भएका थिए।
'विधि र प्रक्रिया विपरित धाँधलीपूर्ण तरिकाले ४२ मत बढी देखाएर गरिएको अवैधानिक मतगणना र घोषित परिणामलाई वदर गरी उल्लेखित अन्तिम चरणमा मतगणना गरिएका अमरज्योति आ.वि. ग्यारसिं, जनजुक्त शाही मा.वि. (क), जनजौकुमारी शाही आधारभूत विद्यालय (क) म्याग्दे ७, व्यास ५ को उदय मा.वि. ठुलोटार (ख) र म्याग्दे वडा नं. ४ को मिन मा.वि. समेतका ५ वटा मतदान केन्द्रमा पुन मतदानको व्यवस्था गरी स्वच्छ र निष्पक्ष निर्वाचनको प्रत्याभूति प्रदान गरियोस्,' विज्ञप्तिमा उल्लेख छ।