सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार उपप्रधानमन्त्री गच्छदार विजयी भएका छन्। उनले एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गरेका हुन्।
बुधबार बिहान सकिएको मतगणनामा गच्छदारले ३८९७२ मत पाए भने चौधरीले ३८६५१ मत पाइन्। मतगणनाको सुरुमा गच्छदार निरन्तर पछाडि पर्दै आाएका थिए। उनले अन्तिम समयमा मतान्तर घटाएका थिए।
यो जितसँगै गच्छदारले ६ वटा चुनाव जितेका छन्। बिजयले २०४६ सालपछिका कुनै पनि निर्वाचनमा हारेका छैनन्। उनी योपटक क्षेत्र नं. ३ बाट छैठौंपटक मैदानमा उत्रिएका थिए। २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दश वर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधीसभाका लागि चुनावी मैदानमा उत्रिएका हुन्।
गच्छदारले काँग्रेस छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए।
गच्छदारले २०६४ सालमा फोरम नेपालबाट २३ हजार ७ सय ६९ मत ल्याएर जितेका थिए। २०७० सालको निर्वाचनमा ६१ हजार ८ सय ६५ मतदाता रहेकोमा गच्छदारले १७ हजार ५ सय २४ मत ल्याएका थिए त्यतिबेला एमालेकी भगवतीलाई विजयले ३ सय ६२ मतले पछि पार्दै विजयी भएका थिए।