केही समय अघिमात्र स्थापना भएको नयाँ दल विवेकशील-साझाले प्रदेश सभामा आफ्ना ३ जनासम्म उम्मेदवार पठाउन पाउने भएको छ।
उसले प्रदेश नम्बर ३ मा दल बन्न पाउने सीमा कटाएको हो। समानुपातिक तर्फको मतगणनामा यही ट्रेण्ड कायम राख्यो भने उसले ३ जना सांसद प्रदेश सभामा पठाउन सक्नेछ।
प्रदेशमा समानुपातिक तर्फ जम्मा खसेको मतको १ दशमलव ५ प्रतिशत मत ल्याए कुनै पनि दलले आफ्नो उम्मेदवार प्रदेश सभामा पठाउन पाउँछ।
यो प्रदेशको पछिल्लो समानुपातिक मत परिणाम अनुसार ७६ हजार १ सय ३७ मत ल्याएको छ। यो गणना भएको मतको ६ प्रतिशत हो। अहिलेसम्म ३ नम्बर प्रदेशमा समानुपातिक तर्फ १० लाख ११ हजार ४ सय २२ मत गणना भैसकेको निर्वाचन आयोगले जनाएको छ। यो जम्मा खसेको मतको लगभग आधा मत हो।
आफूहरुले २ वा ३ वटासम्म उम्मेदवार प्रदेश सभामा पठाउन सकिने अपेक्षा राखेको विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले सेतोपाटीलाई बताए।
'अहिलेसम्मकै मतगणना कायम हुने हो भने हामीले २ अथवा ३ वटा जति प्रतिनिधि प्रदेश सभामा पठाउन सक्छौँ। काठमाडौँमै हाम्रो १ लाख मत खसेको अनुमान छ। यो प्रदेशबाटै डेढ लाख मत आयो भने हामीले ३ जना सम्म प्रतिनिधि पठाउन सक्ने छौँ,' उनले भने।
विवेकशील साझाले प्रकाशित गरेको प्रदेशको समानुपातिक लिष्टबाट पहिलो तीन नम्बरमा पर्ने विराज भक्त श्रेष्ठ, शोभा शाक्य र जीवन श्रेष्ठलाई प्रदेश प्रतिनिधिका रूपमा पठाउन सक्नेछ।
प्रतिनिधिसभा र प्रदेश सभामा प्रत्यक्षतर्फ कुनै पनि सिट उसले जितेको छैन। समानुपातिकतर्फ आएको मतकै आधारमा भने प्रतिनिधिसभामा उसले सिट पाउन सक्ने सम्भावना छैन।