प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ७१ प्रतिशत मतगणना सकिएको छ। १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ७५ लाख १४ हजार ३ सय ६१ मत गणना भइसकेको छ ।
प्रत्यक्षतर्फ एकतर्फी अग्रता लिएका एमाले समानुपातिकमा पनि अगाडि छ। कांग्रेसभन्दा एमाले ८५ हजार मतले अघि छ। अर्थात एमालेले अहिलेसम्म कुल मतको ३४ प्रतिशत ल्याएको छ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कांग्रेसभन्दा १३ सिट अघि रहेको दोस्रो दल माओवादी केन्द्रले समानुपातिकमा निकै कम मत ल्याएको छ। उसले १३.६० प्रतिशत मत ल्याएको छ। प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा सुधार गर्दै ३३.२१ प्रतिशत मत पाएको छ।
बिहिबार बिहान साढे ८ बजेसम्मको परिणामअनुसार संघीय समाजवादी फोरम नेपालले पनि थ्रेस होल्डका लागि चाहिने तीन प्रतिशत मत कटाएको छ। उसले ४.६ प्रतिशत मत ल्याइसकेको छ। यस्तै राष्ट्रिय जनता पार्टीले ३.९ प्रतिशत मत ल्याएको छ।
नयाँ शक्ति पार्टी नेपाल, राप्रपा(प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ। राप्रपा र विवेकशील नेपालले पनि थ्रेसहोल्ड कटाउन सकेका छैनन्, तर उनीहरु थ्रेसहोल्डको नजिक छन्। राप्रपा र विवेकशीलले समान २.२६ प्रतिशत मत ल्याएर संघर्ष गरिरहेका छन्।
कसको कति मत ? नेपाल कम्युनिष्ट पार्टी (एमाले)- २५८३५८८
नेपाली कांग्रेस- २४९६६५६
माओवादी केन्द्र- १०२१७३४
संघीय समाजवादी फोरम, नेपाल ३४५६८६
राष्ट्रिय जनता पार्टी नेपाल- २९१७३४
विवेकशील साझा पार्टी - १७०२९८
राष्ट्रिय प्रजातन्त्र पार्टी - १६९१९३
नयाँ शक्ति पार्टी, नेपाल- ६८०२०
अन्य- ३६७४५२