प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको अहिलेसम्म ६० भन्दा बढी जिल्लाको मतगणना सकिएको छ। बाकी जिल्लामा मतगणना भइरहेको छ।
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखामा बिहीबार दिउँसो साढे तीन बजेसम्म प्राप्त विवरण अनुसार ८१ लाख २८ हजार ७६२ मत गणना सकिएको छ।
प्राप्त मतपरिणाम अनुसार, सबैभन्दा धेरै नेकपा एमालेले २७ लाख ६७ हजार ४४५ मत अर्थात ३४ प्रतिशत मत पाएको छ। यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ७५ हजार ५०२ अर्थात ३३ प्रतिशत मत पाएका छ। माओवादी केन्द्रले अहिलेसम्म ११ लाख ११ हजार ७९ मत अर्थात १४ प्रतिशत मत पाएको छ।
संघीय समाजवादी फोरम नेपालले ३ लाख ९२ हअजार ८ सय २४ अर्थात ५ प्रतिशत मत पुर्याएको छ। यस्तै ३ लाख ३२ हजार २७८ अर्थात ४ प्रतिशत मतसहित राष्ट्रिय जनता पार्टीले थ्रेस होल्डका लागि चाहिने आवश्यक ३ प्रतिशत मत कटाएको छ।
यस्तै विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ प्रतिशत मतसहित थ्रेस होल्ड पार गर्न संघर्षरत छन्।
मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा धनुषा, सप्तरी, सर्लाही, महोत्तरी प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा अर्घाखाँची र प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली, कञ्चनपुर र डोटी छन्।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना बुधबार नै सम्पन्न भइसकेको छ।