प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकिएपछि पहिलो पटक वाम गठबन्धनका दुई नेताबीच शुक्रबार भेटवार्ता भएको छ।
काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एक घन्टा लामो भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
एक नेताको घरमा दिउँसो ३ देखि ४ बजेसम्म दुई नेताबीच निर्वाचपछि वाम गठबन्धन पाएको बहुमत र भावी रणनीति छलफल भएको थियो।
‘दुबै नेताबीच नयाँ सरकार बनाउने विषयमा पनि कुरा भयो,’ अधिकारीले भने, ‘पार्टी एकता प्रक्रियालाई पनि छिटै अगाडि बढाउने समझदारी भएको छ, दुबै नेताले पार्टी एकता विरोधी गतिविधि नगर्न कार्यकताई आग्रह गर्नुभएको छ।'
ओली र दाहालले काम चलाउ सरकारले धमाधम नियुक्ति गरेको विषयमा पनि आपत्ती जनाएका छन्।
दुबै नेताले नयाँ सरकार गठनका विषयमा पनि अनावश्यक कानुनी बखेडा झिकिरहेको निष्कर्ष निकालेका छन्।