नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबारदेखि नयाँ घरमा बसाइ सरेका छन्।
लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका दाहाल शुक्रबारदेखि ललितपुरको खुमलटारमा रहेको शारदा अधिकारीको घरमा बसाइ सरेको उनका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए।
दाहाल पाँच वर्षदेखि लाजिम्पाटमा बस्दै आएका थिए। सानो बाटो र घर पनि साँघुरो भएको भन्दै उनले नयाँ डेरा खोजीरहेका थिए।
छोरा प्रकाशको मंसिर पहिलो साता निधन भएपछि आमा सीता दाहालले लाजिम्पाटमा बस्दा आफूलाई छोराको धेरै याद आउने भएकाले डेरा सर्न जोड गरेकी थिइन्।
‘अध्यक्षनिवास आजैबाट खुमलटार सरेको छ, लाजिम्पाट पनि छोडेका छैनौं, केही सामान ल्याउन बाँकी छ,’ स्वकीय सचिव महराले सेतोपाटीसँग भने।
दाहाल २०६३ सालमा सार्वजनिक भएपछि नयाँबजारमा बस्थे। नयाँबजारमा बसेको घर साँघुरो भएपछि उनी पाँच वर्षपहिले लाजिम्पाट सरेका थिए।
दाहालले भाडामा बसेको नयाँ घरको मासिक भाडा कति हो भन्नेचाहिँ खुलाइएको छैन।