एमाले नेताहरुले माओवादी केन्द्रसंगको एकतापछि पार्टी नेतृत्व कसको हुने भन्ने विषयमा फरक फरक धारणा सार्वजनिक गरेका छन्।
दुई प्रभावशाली नेताहरुको धारणापछि माओवादीसंगको एकताका विषयमा समेत प्रश्न खडा भएका छन्।
गत असोज १७ दुई पार्टीले चुनावी तालमेलसँगै पार्टी एकताको घोषणा गरेका थिए। पार्टी एकता गर्न दुई पार्टीले संयोजन समिति बनाएका थिए।
तर निर्वाचन परिणामपछि एमाले नेताहरुको फरक धारणा आएको छ।
एमाले महासचिव ईश्वर पोखरेलले एकतापछि नेतृत्व र प्रधानमन्त्री दुवै एमालेबाट हुने संकेत गरेका छन्। जबकी एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता र तालमेलको निर्णय हुदैँ गर्दा आलोपालोको सहमति भएको बताएका छन्।
कान्तिपुर दैनिकसँगको कुराकानीमा एमाले महासचिव ईश्वर पोखरेलले भनेका छन्,'मल्टि सेन्टर' होइन 'सिंगल सेन्टर' हुनेगरि जाँदा पनि हुन्छ। अब हाम्रो सन्दर्भमा के गर्दा ठिक हुन्छ त्यो गर्न सक्छौँ तर एमालेको अहिलेसम्मको अनुभवमा पार्टी अध्यक्ष संसदीय दलको नेता हुने र प्रधानमन्त्री पनि उहाँ नै हुने अभ्यास छ।'
उनी आफैँले कुराकानीमा पार्टी एकताका लागि 'हार्ड एण्ड फास्ट पोजिसन' बनाएर जान नहुने जिकिर पनि गरेका छन्। साथै पोखरेलले चुनाव अघि पार्टी एकतापछि पद बाँडफाँटमा कुनै औपचारिक छलफल नभएको बताएका छन्।
एमाले उपाध्यक्ष बामदेव गौतमले भने सरकारमा आलोपालो गर्ने सहमति पार्टी एकता र तालमेलको निर्णय गर्दै गरेदा भएको बताएका छन्।
बिबिसी नेपालीसँगको कुराकानीमा गौतमले भनेका छन्, 'आलोपालोबारे पार्टी एकता र तालमेल गर्दा हामी एउटा निष्कर्षमा पुगेको हो। आलोपालो भनेको एउटा नेताले पाँच अर्को नेताले पाँच बर्ष पनि हुनसक्छ। यहि कार्यकालमा पनि दुइ बर्ष र तीन बर्ष हुन सक्छ। आलोपालो भनेको ठ्याक्कै यो देखि यो समय भन्ने हुदैँन। पहिला आलोपालोको कुरा भएको थियो। तर तालमेल घोषणा गर्दा समावेश भएको छैन।'
उनले पार्टी नेतृत्व भने एकजनासँग रहने बताएका छन्। तर नेतृत्वले सामूहिक निर्णय मात्र लिन सक्ने गरि अगाडि बढ्ने तयारी रहेको खुलाए।
'नेतृत्वमा प्रमुख नेताहरु मध्ये एक जना नेता रहने व्यवस्था हुन्छ। तर त्यो व्यक्तिले सामुहिक निर्णय गर्छ। संयुक्त अध्यक्ष हुदैँन कुनै एक जना अध्यक्ष हुने हो,' गौतमले भनेका छन्, 'प्रचण्ड पनि हुने सम्भवना छ। केपी ओली प्रधानमन्त्री र अध्यक्ष दुवै हुने सम्भावना पनि छ। निर्णय गर्न बाँकि छ।'
एमाले नेताहरुले सार्वजनिक सञ्चार माध्यममा फरक फरक धारणा सार्वजनिक गरेपछि पार्टी एकता संयोजन समितिको उपस्थितिमा आज गठबन्धनले पत्रकार सम्मेलन आयोजना समेत गरेको छ।