नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले चुनावको मतपरिणाम औपचारिक रुपमा सार्वजनिक गर्न कुनै अस्पष्टता नरहेको बताएका छन्।
राजधानीको एक होटलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संविधानको अपब्याख्या गरेर अस्पष्टता ल्याउन खोजेको आरोप लगाए।
‘मतगणना सकिएको सात दिनभित्र मतगणना सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ, त्यहीअनुसार आयोगले मत परिणाम सार्वजनिक गर्नुपर्छ,’ ओलीले भने।
उनले सरकार संविधानको अपव्याख्या गरेर अस्पष्टता सिर्जना गरेको आरोपसमेत लगाए।
उनले आफूले सरकार छोड्दा नयाँ सरकारको गठनसम्बन्धी व्यवस्था नै नभएपनि राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाउ आदेश जारी गरेर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको बताए।
‘म सम्झाउन चाहन्छु, मैले सरकार छोड्दा नयाँ सरकार गठन हुने व्यवस्था नै थिएन, राष्ट्रपतिमार्फत् बाधा अड्काउ फुकाएर नयाँ सरकारलाई मार्गप्रशस्त गरेको थिएँ,’ ओलीले भने, ‘अहिले चुनावपछि पनि प्रधानमन्त्री परामर्शका नाममा अस्पष्टता बढाइरहनु भएको छ।’