नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लगेको अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने र राजनीतिक दलहरुले पनि राष्ट्रपतिलाई अध्यादेश रोक्नका लागि उकास्न नहुने बताएका छन्।
तनहुँ क्षेत्र नम्बर १ का मतादातालाई धन्यवाद दिने क्रममा कुराकानी गर्दै पौडेलले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिइरहेको र राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा जोगाउन सबै लाग्नुपर्ने बताए।
'असंवैधानिक काम गर्न राष्ट्रपतिलाई कसैले पनि उकास्न हुन्न र राष्ट्रपतिले पनि कुनै राजनीतिक दलको उक्साहटमा लाग्नुभन्दा आफ्नो संवैधानिक दायरामा रहेका काम गर्नुपर्छ,' पौडेलले भने।
उनले राष्ट्रिय सभा गठन नभएसम्म संघीय संसदले पूर्णता नपाउने भन्दै राष्ट्रियसभा तत्काल गठन हुनुपर्नेमा जोड दिए।
'राष्ट्रियसभा एउटा जिम्मेवार संस्था हो। अन्तर्राष्ट्रिय स्तरमा पनि एउटा पाको सभाका रूपमा राष्ट्रिय सभालाई लिने गरिन्छ। त्यस्तो जिम्मेवार सभालाई कुनै एउटा दलको पकड बनाउने ढंगले कानुन बन्नु गलत हुन्छ,' पौडेलले भने।
पौडेलले मतदातालाई धन्यवाद दिदै तनहुँको सुख दु:ख र आपत्तविपत्तमा सधै साथ रहने प्रतिवद्धता जनाए।