नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनभन्दा पहिले एमालेसँग पार्टी एकता हुनु पर्ने बताएको छ।
सोमबार पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले सरकार गठन र पार्टी एकताको प्रक्रियालाई एकसाथ अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको हो।
‘जनताले हामीलाई पार्टी एकता गर्न मत दिएका छन्, त्यसैले सरकार गठनसँगै पार्टी एकताको प्रक्रिया पनि प्राथमिकतामा राख्नुपर्छ,’ बैठकपछि सेतोपाटीसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अझ सरकार गठन गर्नुभन्दा पार्टी एकता छिटो गर्नुपर्छ।’
मंसिर १० र २१ गते भएको चुनावमा एमाले र माअोवादीले गठबन्धन गरी ४० र ६० प्रतिशत सिट बाँडेका थिए।
उनीहरुले त्यतिबेलै चुनावपछि पार्टी एकता हुने बताएका थिए।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुने बताए पनि सीमा भने तोकेका थिएनन्।
एमालेकै दोस्रो तहका नेताहरुले भने सरकारको नेतृत्व र पार्टी अध्यक्षका विषयमा परस्पर विरोधी धारणा सार्वजनिक गर्दै आएका छन्।