मंसिर १० र २१ गते भएकाे चुनावमा देशभरि वाम गठबन्धनकाे लहर चल्यो। धेरै ठाउँमा गठबन्धनका उम्मेदवारले कांग्रेसका 'हेभीवेट'लाई पराजित गरे। तर बर्दिया- १ मा भने एमाले उपाध्यक्ष वामदेव गौतम सिचाइँ मन्त्री सन्जयकुमार गौतमसँग पराजित भए, त्यो पनि ७ सय ५३ मतकाे अन्तरले।
वाम गठबन्धनका सुत्रधारमध्येका एक गौतमको पराजयलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। गौतमले पनि हारेको नभई आफूलाई पार्टीभित्रैबाट हराइएकाे दाबी गरेका छन्। उनले सार्वजनिक रूपमै भनेका छन्- प्रदेश सभाको उम्मेदवार चित्त नबुझेको भन्दै एक समूह मलाई हराउन लाग्यो।
असारमा भएको स्थानीय चुनावको नतिजा देखाउँदै गौतमले आफू अन्तरघातको सिकार भएकाे बताएका छन्।
उनकाे प्रश्न छ- स्थानीय चुनावमा २४ हजार मत नल्याएको कांग्रेसले अहिले कसरी ४४ हजार मत ल्यायो?
असार १४ गते भएको चुनावमा बर्दिया-१ मा पर्ने गाउँ तथा नगरमा वडागत मत परिणाम हेर्ने हो भने कांग्रेससहितका अन्य दल एकातिर हुँदा समेत एमाले एक्लै बलियो छ। त्यहाँका २८ वडामा एमालेका वडाअध्यक्षले पाएको मत ३१ हजार २ सय ६० छ। जबकी कांग्रेस, राप्रपा, फोरम लोकतान्त्रिक र संघीय फोरम एकातिर हुँदा ३१ हजार ४० मत थियो। त्यसमाथि वाम गठबन्धन भएपछि माओवादीको मत जोड्ने हो भने कांग्रेससँगको अन्तर अझ फराकिलो हुन्छ।
बर्दिया-१ का वडामा माओवादी केन्द्रको मत२४ हजार ४ सय ५२ थियो। दुवै दलको मत जोड्दा ५५ हजार ७ सय १२ हुन्छ।
यसरी हिसाब गर्ने हो भने स्थानीय तहको निर्वाचनमा वडागत मतपरिणामभन्दा वामदेवले प्रतिनिधि सभा निर्वाचनमा ११ हजार ६ सय ३६ मत कम ल्याए।
अर्थात् स्थानीय तहको मत, प्रदेशगत मत र समानुपातिक हिसाबको मत हेर्न हो भने बर्दियामा बामदेव गौतम जित्ने देखिन्छन्। तर उनी यसपटक झिनो मतान्तरले पराजित भएका छन्।
तर प्रदेश सभामा भने वाम गठबन्धनका दुवै उम्मेद्वार झन्डै २ हजार बढी मतान्तरले विजयी भए। क्षेत्र नं १ को (क) मा एमालेका कविराम थारुले २३ हजार ५ सय ६० मत प्राप्त गरेका छन्। अनि (ख) बाट माओवादी केन्द्रका उम्मेद्वार तिलकराम शर्माले २३ हजार ३ सय ९२ मत ल्याए। प्रदेश सभा तर्फ दुवै उम्मेद्वारको मत जोड्ने हो भने ४६ हजार ९ सय ५२ हुन्छ। अर्थात वाम गठबन्धनका प्रदेश सभाका उम्मेद्वारले प्राप्त गरेको मत भन्दा बामदेवले २ हजार ८ सय ७६ मत कम ल्याए। अर्थात् प्रदेशमा वाम उम्मेद्वार रोज्नले वामदेवलाई मत दिएका छैनन्।
समानुपातिक तर्फको मतपरिणाम विश्लेषण गर्दा एमालेले प्रतिनिधिसभा तर्फ २८ हजार ५ सय ६७ मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले १६ हजार ९ सय ७३ मत प्राप्त गरेको छ। अर्थात् दुवै पार्टीको समानुपातिक मत जोड्ने हो भने गठबन्धनको पक्षमा ४५ हजार ५ सय ४० हुन्छ।
यो मत वामदेवले प्राप्त गरेको भन्दा १ हजार ४ सय ६४ मत बढी छ। गठबन्धनको भोट गौतमको पक्षमा ‘इन्ट्याक्ट’ रहेको भए उनको जित हुने देखिन्छ। अर्थात् समानुपातिकमा एमाले र माओवादीलाई मत दिनेले पनि वामदेवलाई मत नदिएको देखिन्छ।
बर्दियामा बदर मत पनि धेरै देखिन्छ। ९५ हजार ५ सय २३ मत खसेकोमा त्यहाँ प्रतिनिधि सभा तर्फ मात्र ११ हजार ३ सय ७७ मत बदर भएको छ।
यद्यपी स्थानीय तहको मतको तुलनामा समानुपातिकतर्फ एमालेको मत घटेको छ। एमालेको मत स्थानीय तहभन्दा अहिले २ हजार ६ सय ९३ घटेको छ। अनि माओवादीको मत अघिल्लो निर्वाचनको तुलनामा ७ हजार ४ सय ७९ ले घटेको छ। अर्थात् वाम गठबन्धनको मत स्थानीय तहमा भन्दा यसपटक १० हजार १ सय ७२ ले घटेको छ।
गौतमले आफ्नो हारलाई सहज रुपमा लिएका छैनन्। उनले पुस १ गते बिबिसीसँगको कुराकानीमा आफूले हारको छानविनको माग गरेको बताएका छन्।
त्यसो त गौतमको हारबारे छानविनका लागि गठबन्धनले समिति समेत बनाइएको छ। समितिको संयोजकमा नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष हरिप्रसाद ज्ञवाली छन्। अनि समितिको सदस्यमा माओवादी केन्द्रका भवनकुमार थारु छन्।
वामदेवको हारबारे विभिन्न चर्चा छन्। मंसिर २७ गते जनआस्था साप्ताहिकले वामदेव हराउन भूमिका खेलेको भन्दै एमालेकै केहि नेताहरुको नाम उल्लेख गरेको छ। जसमा बर्दियाका एमाले नेताहरु श्याम ढकाल, दामोदर अर्याल, खड्गबहादुर खड्का र सूर्य थापाको नाम उल्लेख छ। थापा एमालेको प्रचार विभागका सह-संयोजक समेत हुन्।
तर थापाले सेतोपाटीसँगको कुराकानीमा वामदेव हराउन भूमिका खेलको भन्ने आरोपको अस्वीकार गरे। ‘२०७० मा प्यूठान गएर वामदेवलाई जिताएर पठाएको हो, म जिताउन लाग्ने मान्छे हो, कसैलाई हराउन लाग्ने मान्छे हैन’, थापाले भने, ‘बर्दियाका भोटर को हुन् भन्ने पनि मलाई थाहा छैन, यस्ता वाहियात कुराको पछि लाग्न जरुरी छैन।'
थापाले वामदेव आफ्नै कारणले पराजित भएको तर्क गरे। ‘आफूले ऐना हेर्नपर्यो नि’, थापा भन्छन्, ‘उहाँलाई त्यहाँका मतदाताले रुचाएनन्। ३० हजार बढी बाम मतदाता भएको ठाउँमा पनि जितेर आउनु हुन्न भने उहाँले आफूलाई रिभ्यु गर्नुपर्यो नि।'