नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन र माओवादीसँगको एकीकरण सँगै हुने बताएका छन्।
वाम गठबन्धनबाट काठमाडौंमा निर्वाचित भएकाहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निकट भविष्यमै पार्टी एकता हुने बताए।
‘हामी सरकार गठन र पार्टी एकीकरण सँगै गर्दै जान्छौं,’ ओलीले भने, ‘कतिपय अहिले पनि हामीलाई भाँड्न खोजेका छन्। तर हामी जसरी पनि एकता गरेरै छोड्नेछौं।’
उनले धेरैले अहिले एकीकरण भए एमालेले माओवादीलाई निल्ने र माओवादीसँग एक भए एमालेको विश्वासनियता घट्नै भन्दै उक्साउन खोजेको बताए।
‘मैले उनीहरुलाई भन्ने गरेको छु, एकीकरण भयो भने एमालेले माओवादीलाई निल्छ, माओवादीले एमालेलाई निल्छ, त्यसपछि न एमाले रहन्छ न माओवादी रहन्छ,’ ओलीले भने, ‘एमाले र माओवादी पूर्व पार्टी हुन्छन्। अनि नयाँ पार्टी बन्छ।’