वाम गठबन्धनले राष्ट्रिय सभा गठन नभए पनि प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई दबाब दिएको छ।
संघीय संसदमा महिला प्रतिनिधित्वको विषय उठाउँदै आयोगले समानुपातिकतर्फको मतपरिणामअनुसार दलहरुलाई सिट बाँडफाँड गरेको छैन।
आयोगलाई निर्वाचन परिणाम सार्वजनिक गर्न ‘म्यासेज’ पठाइएको एमाले नेता सुवासचन्द्र नेम्वाङले बताए। उनले गठबन्धनका नेताहरूको आयोग पदाधिकारीसँग भेटेको विषयमा भने खुलाएनन्।
‘निर्वाचन आयोगले रिजल्ट निकाल्नुपर्छ। हामी पर्खेर बसिराखेका छौँ’, नेम्वाङले भने, ‘हामीले आयोगलाई पनि खबर गरेका छौँ।‘
नेम्वाङले निर्वाचनलगत्तै मतगणना गर्नुपर्ने, बीचमा रोक्न नहुने जस्ता कानुनी प्रावधान रहेको र त्यसकै आधारमा पनि मतपरिणाम घोषणामा आयोगले ढिलाइ गर्न नहुने बताए। राष्ट्रिय सभा गठनको विषय सरकार गठनसँग सम्बन्धित नभएको धारणा गठबन्धनका नेताहरुले राख्दै आएका छन्।
यसअघि बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। नेम्वाङ पनि सो भेटमा सहभागी थिए।
भेटमा ओली र दाहालले मतपरिणाम आएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिलाई आग्रह गरेका थिए।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दलहरुसँग निर्वाचन परिणामबारे छलफल भएको सेतोपाटीलाई बताए।
‘निर्वाचन परिणामका विषयमा छलफल भयो’, अधिकारीले भने, ‘सबै संवैधिनक अंगले आफ्ना कर्तव्य पुरा गरिहाल्छन् भन्ने आशय राष्ट्रपतिले व्यक्त गर्नुभयो।'
राष्ट्रपतिसँगको कुराकानीमा नेताहरुले राष्ट्रिय सभा अध्यादेश अगाडि नबढाउन समेत आग्रह गरेका थिए। नेताहरुले एकल संक्रमणीय निर्वाचन प्रणालीको विषय संविधानमा उल्लेख नभएको र दलीय सहमतिको विगतको विधेयक संसदमा पेश नभएको राष्ट्रपतिलाई जानकारी गराएका थिए।
‘संसदमा पेश गरेको भन्दा उल्टो अध्यादेश सरकारले ल्यायो। सामान्य अवस्थामा पनि अध्यादेश मार्फत कानुन बनाउनु गलत हो। अब कामचलाउ सरकारले अध्यादेश ल्याउनु ठिक होइन भनेर हामीले राष्ट्रपतिलाई भनेका छौँ’, नेम्वाङले भने।
उनले अहिले प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको अवस्था सरकार बनाएर जान कुनै समस्या नभएको जिकिर समेत गरे। संसदको बैठक नबस्दा पनि सरकार बन्न सक्ने व्यवस्था अहिलेको संविधानले गरेको उनको दाबी छ।