नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले वाम गठबन्धनले नेपालमा ५ वर्ष पनि शासन गर्न नसक्ने बताएका छन्।
रिपोटर्स क्लब नेपालले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महतले गठबन्धनले ५० वर्ष शासन गर्ने दाबी गरिरहे पनि त्यति सजिलो नभएको बताए।
‘वाम गठबन्धनले ५ वर्ष होइन ५० वर्ष शासन गर्छु भनेको सुनिन्छ, सकेसम्म चलाए हुन्छ, उहाँहरुले ५० वर्ष त के ५ वर्ष पनि चलाउन सक्नुहुन्न, कांग्रेस कुनै दलभन्दा कमजोर छैन।’
एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले दुई पार्टी एक भएपछि नेपालमा ५० वर्षसम्म शासन गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।
फरक प्रसंगमा नेता महतले पार्टी सभापति शेरबहादुर देउवालाई हटाउँछु भन्नु सस्तो लोकप्रियता भएको बताए।
‘लोकप्रियताका पछि लाग्नु हुँदैन, पार्टीका बारे कुरा राख्ने आफ्नै फोरम छ, हामी कमजोर छैनौं, अब पार्टीलाई आधुनिक शैलीमा अघि बढाउनुपर्छ, यसबारेमा केन्द्रिय कार्यसमितिमा बृहत्त छलफल हुन्छ,’ महतले भने।