प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर राष्ट्रिय सभा गठन नभई प्रतिनिधि सभाको अन्तिम मतपरिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन्।
दाहाल निकट स्रोतका अनुसार केहीदिनअघि भएको सो भेटमा यादवले संघीय संसदमा प्रत्येक राजनीतिक दलबाट ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण राष्ट्रिय सभा गठन नभई प्रतिनिधि सभाको मत परिणाम गर्न अप्ठेरो परेको बताएका थिए।
दाहालले आफू निकट नेताहरुलाई आयुक्त यादवको भनाइ सुनाइसकेका छन्।
आयुक्त यादवले यसअघि पनि राष्ट्रिय सभाको गठन नभई प्रतिनिधि सभामा समानुपातिकतर्फ दलहरुले पठाउनु पर्ने महिला सांसदको संख्या तोक्न नसकिने भएकाले परिणाम सार्वजनिकमा कठिनाइ रहेको बताएका थिए।
वाम गठबन्धनका नेताहरु प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न राष्ट्रिय सभा आवश्यक नभएको भन्दै तत्काल परिणाम सार्वजनिक गर्नु पर्ने बताउँदै आएका छन्। एमाले नेता सुवास नेम्वाङले मतपरिणाम सार्वजनिक गर्नुपर्ने सन्देश आयोगलाई दिइसकेको बताएका छन्।
वाम गठबन्धनको यो अडानका कारण आयोग अहिले दबाबमा छ।