माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेशबारे चलिरहेको विवाद समाधान छिटै हुने विश्वास व्यक्त गरेका छन्।
चितवनमा भएको एक कार्यक्रममा उनले त्यो विवाद समाधानको उपाय वामपन्थीहरुले नै खोज्नुपर्ने र कांग्रेसलाई सम्हालेर लानुपर्नेमा आफ्नो जोड रहेको बताए।
'उपायको खोजी गर्नेतिर ध्यान दिँदा नै राम्रो हुने हो कि भनेर, भर्खरै केपी जीसँग मैले सोचौँ है, हल हामीले नै निकाल्नुपर्छ भनेको छु,' प्रचण्डले भने, 'दुई तिहाईको झण्डै नजिक मत ल्याएकाले अब हामी नै नम्र हुनुपर्ने, जिम्मेवार हुनुपर्ने र कांग्रेस लगायत प्रतिपक्षलाई पनि हामीलेनै सम्हालेर लिएर जानुपर्ने जिम्मेवारी छ, भनेको छु।'
राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय प्रणालीबाट गर्ने कांग्रेसको अडान छ भने एमालेले बहुमतीयबाट हुनुपर्ने अडान राख्दै आएको छ। सरकारले राष्ट्रपतिकहाँ पठाएको अध्यादेशमा एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने उल्लेख छ। यस्तो व्यवस्था संविधानमा नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म प्रमाणीकरण गरेकी छैनन्।
एमालेले पनि उक्त अध्यादेश संविधानसम्मत नभएको भन्दै विरोध जनाएको छ।
तर एमालेसंगै गठबन्धन गरेको माओवादीका अध्यक्षले भने आफूहरूले कांग्रेसको कुरा पनि सुन्नुपर्ने धारणा व्यक्त गरेका छन्।
'नेपाली कांग्रेसको समस्या के हो बुझिदिनुपर्ने देख्छु मैले। बहुमतीयमा गयो भने राष्ट्रिय सभामा कांग्रेसको एउटा पनि आउने भएन। एक जना पनि नआउने भएपछि हामी वामपन्थीलाई पनि खुसीको कुरा हुँदैन। यो प्रणाली भित्र कमसेकम प्रतिपक्षका दुईचार जना मान्छे भए/हुँदाखेरी छलफल बहसमा जो जीवन्तता आउँछ। एउटा पनि भएन भने त अल्लि अप्ठेरो पनि हुन्छ की!' उनले भने।
राष्ट्रिय सभाको गठनसम्बन्धी विवाद केही कानुनीजस्तो देखिए पनि राजनीतिक भएकाले यसको समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे।
'अहिले राष्ट्रिय सभाको गठनमा केहि विवाद देखिएका छन्। यो बहसका थोरै लिगल र संवैधानिक आस्पेक्ट पनि छ। धेरै चैँ यो पोलिटिकल छ,' उनले भने, 'खासमा हामी राष्ट्रिय सभाको ऐन बनाएर निर्वाचनमा जानुपर्थ्यो। राम्रो त्यही हो। तर निर्वाचन आइ नैसकेको थियो र संसद भंग हुने संविधानको व्यवस्थाको कारणले ऐन बन्न सकेन। अहिले अध्यादेशमाथि छलफल भैरहेको छ। तर यो हल हुन्छ।'
चितवनबाट बिहानै ओलीलाई फोन गरेर यसको समाधानका बारे आफूले छलफल गरेको उनले बताए।
'बिहान केपीजी र मैले लामो कुरा गरेका थियौँ र यसको हल निकाल्ने विकल्पको बारेमा छलफल भयो। हल निकालेर छिटो भन्दा छिटो सरकार गठन गरेर यो स्थितिलाई लम्बिन नदिने हाम्रो कोशिश छ,' उनले भने।
पहिले बहुमतीय प्रणालीबाटै राष्ट्रिय सभाको निर्वाचन गर्नेमा सबैको सहमति भए पनि वामपन्थीको पक्षमा परिणाम आएपछि कांग्रेसले संशोधन गरेको उनले बताए।
'पहिलो चरणको निर्वाचनमै वामपन्थीहरुको पक्षमा परिणाम आयो। त्यतिबेला कांग्रेसका साथिहरुलाई बहुमतीयबाट जाँदा त राष्ट्रिय सभामा कांग्रेसको उपस्थिति शून्य पनि हुन सक्ने खतरा भयो भन्ने बुद्धि आयो। अनि उहाँहरुले संशोधन राख्न सुरु गर्नुभयो। यो बिमार त्यहाँबाट सुरु भएको हो। झन् माओवादी र एमाले पार्टी एकता गर्ने नै भएपछि कांग्रेसका साथिहरुले यो विषय छोड्नै हुँदैन भनिराख्नुभएको छ, ' उनले भने।
एकल संक्रमणीय र बहुमतीय दुवैको बीचबाट समाधान खोज्नुपर्ने उनले बताए।
'मतभारका कारणले एकल संक्रमणीय प्रणाली लागु गर्न सकिन्न भन्ने संविधान ड्राफ्ट गर्ने साथीहरूको तर्क छ। एक जना मात्र निर्वाचन गर्न पर्यो भने के गर्ने सिष्टम नै छैन। जस्तो अपाङ्ग एक जना भनेको छ। दलित एक जना भनेको छ। उनीहरुको निर्वाचन गर्दा एकल संक्रमणीय लागू हुन सक्दैन,' प्रचण्डले भने,'यद्यपी एकल संक्रमणीयको पक्षमा बोल्ने साथीले त्यसको हल निकाल्न सकिन्छ कम्तीमा दलहरु बसेर त छलफल गर्नुपर्यो भनेर अस्ती सुरुवात त भयो। मिलेको छैन। फेरि छलफल गर्नुपर्छ र मुख्यमुख्य नेताहरु बसेर निकास निकाल्नुपर्छ।'